गान्तोक: पश्चिम बङ्गालको तमलुकमा आयोजित ५० किलोमिटर अल्ट्रा म्याराथनमा सिक्किमका युवा धावक पासाङ ओङ्ग्याल भोटियाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेका छन्।आइतबार सम्पन्न कठिन प्रतिस्पर्धामा गेजिङ जिल्लास्थित सन्चामान लिम्बू सरकारी महाविद्यालयका विद्यार्थी पासाङले निर्धारित ५० किलोमिटरको दूरी ३ घण्टा ५५ मिनेटमा पूरा गरेका हुन्। यससँगै उनले ४५ वर्षमुनिको उमेर समूहमा भने प्रथम स्थान हासिल गर्न सफल भए।आफ्नो निरन्तरको कडा परिश्रम, खेलप्रतिको समर्पण र सिक्किमका चर्चित ‘म्याराथन म्यान’ अमर सुब्बाको कुशल मार्गदर्शनका कारण यो सफलता सम्भव भएको पासाङले बताएका छन्। उनको यस उपलब्धिप्रति महाविद्यालय परिवारका साथै स्थानीय खेलप्रेमीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।





