कोलकाता: पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले आफ्नो पहिलो १०० दिन सफलतापूर्वक पूरा गरेको छ। सरकारका उपलब्धि, क्षेत्रगत निर्णयहरू र कल्याणकारी योजनाहरूको समीक्षा गर्न राज्यका प्रत्येक जिल्लामा पत्रकार सम्मेलनहरू आयोजना भइरहेका छन्। भाजपाले आफ्ना प्रमुख एजेन्डा विकास, सुशासन, लगानी र महिला सुरक्षामा आधारित भई सुधारका कामहरू तीव्र पारिएको जनाएको छ।उद्योग र लगानी प्रवर्द्धनअन्तर्गत राज्यमा पहिलो १०० दिनमै ५४ हजार करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव प्राप्त भएको छ। लगानी भित्र्याउन ५ हजार करोडको पूर्वाधार संरचना, १०० करोडभन्दा माथिका योजनाका लागि ‘सिंगल विन्डो क्लियरेन्स’ र नयाँ उद्यमीका लागि १०० करोडको स्टार्ट-अप कोष स्थापना गरिएको छ। सांकराइलमा अमुलको डेरी, डानकुनीमा लक्स कोजी र श्याम स्टिलको १० हजार करोडको ठूलो लगानीले स्थानीयस्तरमा रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ।सुशासन र प्रशासनिक सुधारतर्फ कटमनी, सिन्डिकेट र अवैध असुली अन्त्य गर्न छुट्टै टोल-फ्री हेल्पलाइन सञ्चालनमा ल्याइएको छ। महिला सुरक्षाका लागि ‘दुर्गा सुरक्षा स्क्वाड’ र ‘पिंक पेट्रोल’ गस्ती सुरु हुनुका साथै थानाहरूमा साइबर डेस्क र सहायता केन्द्र स्थापना गरिएका छन्। यस्तै, सीमा सुरक्षालाई सुदृढ तुल्याउन बीएसएफलाई १ हजार एकडभन्दा बढी जग्गा हस्तान्तरण गरिएको छ।स्वास्थ्य तथा सामाजिक सुरक्षाको दायरा फराकिलो बनाउँदै ‘मुख्यमन्त्री स्वास्थ्य बीमा योजना’ मार्फत ५ लाख रुपैयाँसम्मको नि:शुल्क उपचारको घोषणा गरिएको छ। न्यु टाउनमा २ हजार बेडको अस्पताल निर्माण सुरु गरिँदै छ भने ‘अन्नपूर्णा योजना’ अन्तर्गत लक्षित महिलाहरूलाई ३ हजार रुपैयाँ र ज्येष्ठ नागरिक, विधवा तथा अपाङ्गता भएका व्यक्तिहरूको भत्ता ५०० रुपैयाँले बढाइएको छ।रोजगारी र शिक्षा क्षेत्रमा आगामी वर्ष १ लाख सरकारी नौकरी उपलब्ध गराउने लक्ष्यसहित लोक सेवा आयोगमार्फत २५ हजारभन्दा बढी पदमा पदपूर्ति प्रक्रिया सुरु गरिएको छ। सरकारी सेवामा महिलाका लागि ३३ प्रतिशत आरक्षण तोकिएको छ। बंगाली र नेपाली माध्यमका विद्यालयको पूर्वाधार सुधारका लागि २९६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसका साथै हवाई सम्पर्क विस्तार, २ करोडभन्दा बढी वृक्षारोपण र ‘मा आहारा’ क्यान्टिनमार्फत सस्तो दरमा खानाको प्रबन्ध मिलाइएको छ।









