​’अलिकति समय दिनुहोस्, सरकार बनेको भर्खर १०० दिन भयो’: ‘अन्नपूर्णा योजना’ विवादमा अग्निमित्रा पालको बयान, तृणमूलमाथि आरोप

bjp-mla-agnimitra-paul-photo-xpaulagnimitra1-204606693-16x9

कोलकाता: पश्चिम बंगालमा महिला आर्थिक सहायतासम्बन्धी बहुचर्चित ‘अन्नपूर्णा योजना’लाई लिएर सुरु भएको असन्तुष्टिपछि राज्य राजनीति गर्माएको छ। योजनाको रकम भुक्तानीमा ढिलाइ र अव्यवस्थालाई लिएर ठाउँ-ठाउँमा महिलाहरूले विरोध जनाएपछि राज्य सरकारकी मन्त्री अग्निमित्रा पालले यसको सम्पूर्ण दोष मुख्य विपक्षी दल तृणमूल कांग्रेस माथि थोपरेकी छन्। तृणमूलका कार्यकर्ताहरूले नै नियतवश भित्रभित्रै योजनामा बाधा र गडबडी सिर्जना गरिरहेको आरोप मन्त्री पालले लगाएकी छन्।
​पश्चिम मेदिनीपुरस्थित प्रशासनिक भवनमा आयोजित बैठकका क्रममा रुष्ट महिलाहरूको समूह बाहिर भेला भएर विरोध जनाउन थालेपछि मन्त्री अग्निमित्रा पाल बैठक बीचैमा छाडेर उनीहरूसँग छलफल गर्न बाहिर निस्किएकी थिइन्। महिलाहरूका गुनासो सुन्दै उनले भनिन्, “अलिकति समय दिनुहोस्, सरकार बनेको भर्खरै १०० दिन मात्र भएको छ।” उनले कुनै पनि योग्य महिला यो योजनाको लाभबाट वञ्चित नहुने स्पष्ट पारिन्।
​मन्त्री पालले सम्पूर्ण वस्तुस्थितिको जानकारी मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई गराउने बताउँदै समस्या समाधानका लागि पहल भइरहेको आश्वासन दिइन्। उनले योग्य महिलाहरूलाई आफ्नो नाम, फोन नम्बर र दर्ता नम्बर सम्बन्धित एसडीओ कार्यालयमा बुझाउन आग्रह गरेकी छन्। यसैबीच, योजना सम्बन्धी दाबी तथा गुनासो दर्ता गर्नका लागि अगस्ट २० देखि नयाँ अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याइएको छ, जसमा निवेदनहरू आउन सुरु भइसकेको नवान्न स्रोतले जनाएको छ।

About Author

Advertisement