कोलकाता: पश्चिम बंगाल सरकारले राज्यका बेरोजगार युवाहरूलाई आर्थिक सहायता प्रदान गर्न ‘युवा शक्ति’ योजना सुरु गर्ने तयारी गरेको छ। नवनिर्वाचित भाजपा सरकारले सन् २०२६ को चुनावी घोषणापत्रमा गरेको वाचा अनुरूप यस योजना अन्तर्गत योग्य युवाहरूलाई प्रत्येक महिना ३,००० रुपैयाँ आर्थिक सहायता दिइनेछ। सरकारले यसका लागि ‘युवा शक्ति भरोसा कार्ड’ को अनलाइन पोर्टल समेत तयार गरिसकेको छ, यद्यपि आवेदन प्रक्रिया र विस्तृत निर्देशिकाहरू भने अझै जारी हुन बाँकी छ।
युवासाथी योजना भन्दा दोब्बर सहायता
प्रस्तावित योजना अन्तर्गत प्राप्त हुने ३,००० रुपैयाँ मासिक सहायता अघिल्लो सरकारको ‘युवासाथी योजना’ अन्तर्गत दिइने १५,०० रुपैयाँ मासिक भत्ताको तुलनामा दोब्बर हुनेछ। भाजपाले चुनावका बेला लोकसेवा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारीका लागि १५,००० रुपैयाँ एकमुष्ट सहायता दिने वाचा पनि गरेको थियो, तर यस विषयमा भने अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।
कसले आवेदन दिन पाउनेछन्?
यस योजनाको लाभ लिनका लागि आवेदकले माध्यमिक (१० कक्षा) वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। यसका साथै आवेदक पश्चिम बंगालको स्थायी बासिन्दा हुनुपर्ने, २१ देखि ४० वर्ष उमेर समूहको हुनुपर्ने र आवेदन दिने समयमा बेरोजगार हुनुपर्ने प्रावधान राखिएको छ।
सिधै बैंक खातामा रकम जम्मा हुने
अनलाइन आवेदन दिएपछि सम्बन्धित दस्ताबेजहरूको प्रमाणीकरण गरिनेछ। योग्य ठहरिएका लाभार्थीहरूको बैंक खातामा प्रत्येक महिना ३,००० रुपैयाँको राशि सिधै ‘डिरेक्ट बेनिफिट ट्रान्सफर’ (डीबीटी) मार्फत पठाइनेछ।
यी दस्ताबेजहरू आवश्यक पर्ने
आवेदनका लागि आधार कार्ड, वोटर आइडी, जन्म दर्ता प्रमाणपत्र, माध्यमिक तहको एडमिट कार्ड वा उमेर खुलेको प्रमाण, शैक्षिक प्रमाणपत्रहरू, बैंक खाताको विवरण तथा सरकारद्वारा तोकिएका अन्य आवश्यक कागजातहरू बुझाउनुपर्नेछ।










