नरबहादुर दाहाल हाम्रो जाति, साहित्य र संस्कृतिको अलिखित जिउँदो इतिहास हुन्: कृष्णसिंह मोक्तान
सुकना: अगमसिंह गिरी संस्थान् सलुवाको प्रकाशनमा रहेको परदेशी नरबहादुर दाहाल विशेषाङ्क लोकार्पण गरिएको छ। अगमसिंह गिरी संस्थान् सलुवा र सुकना साहित्यिक अनि सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा सुकना उच्चत्तर माध्यमिक विद्यालयमा सम्पन्न एक कार्यक्रमबीच उक्त परदेशी नरबहादुर दाहाल अभिनन्दन ग्रन्थ विशेषाङ्क लोकार्पण गरिएको छ। उक्त कार्यक्रम अगमसिंह गिरी संस्थान् सलुवाको सभापति तिलक राई दुमीको अध्यक्षता र वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। अगमसिंह गिरी र स्व एसके छेत्रीको प्रतिकृतिमा अतिथिहरूको बाहुलीबाट माल्यार्पण र धुप दीप प्रज्वलन गरी थालिएको कार्यक्रममा सरस्वती बन्दना केके विश्वकर्म र सरस्वती विश्वकर्मले गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण अगमसिंह गिरी संस्थान सलुवाको सचिव विकास कार्कीले राखेका थिए भने नरबहादुर दाहाल अभिनन्दन ग्रन्थ विशेषाङ्क विमोचन समारोह समितिको पक्षबाट संयोजक जेबी छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा नरबहादुर दाहालको परिचय वरिष्ठ साहित्यकार ज्ञान सुतारले राखेका थिए। यसै अवसरमा वरिष्ठ साहित्यकार नरबहादुर दाहालको जन्मदिन दिन पनि केक काटेर पालन गरिएको थियो। यसै कार्यक्रममा परदेशी नरबहादुर दाहाल विशेषाङ्कको सभाध्यक्ष, प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तान, नरबहादुर दाहाल लगायत विशिष्ट अतिथिहरूको बाहुलीबाट लोकार्पण गरिएको छ। कार्यक्रममा अगमसिंह गिरीद्वारा रचित ‘नौलाखे तारा उदायो’ नामक गीतको धुन केके विश्वकर्मद्वारा बजाइएको थियो। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई अगमसिंह गिरी स्मृति सम्मान प्रदान गरियो। यस अवसरमा उनलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानको बाहुलीबाट खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै शल ओढ़ाएर सम्मान गर्दै स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी सम्बर्ध्दना जनाइएको छ। नरबहादुर दाहालको सम्बर्ध्दना पत्र बबिता मादेनद्वारा पठन गरिएको थियो।

कार्यक्रममा सुकना साहित्यिक सांस्कृतिक संस्थानको सचिव सूर्यमणि शर्माले अगमसिंह गिरी संस्थान् सलुवालाई धन्यवाद ज्ञापन गरेका थिए भने अगमसिंह गिरी संस्थान् सलुवाको पक्षबाट पनि आभार प्रकट गरिएको थियो। कार्यक्रममा परदेशी नरबहादुर दाहाल विशेषाङ्कमा आफ्नो रचना दिने साहित्यकारहरूलाई सम्मानित पनि गरिएको थियो। मेघनाथ छेत्री र उषाकिरण सत्यदर्शीद्वारा सञ्चालित कार्यक्रममा विभिन्न क्षेत्रहरूमा विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो सम्बोधन राख्दै वरिष्ठ साहित्यकार नरबहादुर दाहालले आफुलाई गरेको सम्मानको लागि अगमसिंह गिरी संस्थान् सलुवा र सुकना साहित्यिक अनि सांस्कृतिक संस्थानलाई धन्यवाद दिएका छन्। उनले आफु कालेबुङ जस्तो साहित्यिक उर्वर भूमिबाट सुकना आएको प्रसंगहरू विषयमा बताएका थिए भने आफु ९ वर्षको उमेरमा महाकवि देवकोटा कालेबुङ आएको बेला उनको भाषण सुनेको र तेतिबेला भाषण नबुझे पनि आफ्नो साहित्यिक बीजारोपण भएको बताएका छन्। दाहालले अघि भने, साहित्यिक कार्यक्रमहरू मेरो लागि सत्यनारायणको पूजा जतिकै हो,कारण कुनै बाटोमा जाँदै गर्दा पनि चाल पाए गएर प्रसाद लिनु पर्ने र आरती गर्नु पर्ने हुन्छ। साहित्यिक कार्यक्रमको निम्तो नआए पनि फुर्सद भए जानुपर्छ कारण साहित्यिक कार्यक्रम हुने स्थान मन्दिर बराबर हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ साहित्यकार कृष्णसिंह मोक्तानले नरबहादुर दाहाल हाम्रो जाति, भाषा र संस्कृतिको धरोहर हुन् भनी बताएका छन्। उनले नरबहादुर दाहाल हाम्रो अलिखित जिउँदो इतिहास हुन् भनी बताउँदै उनी एकजना यशस्वी व्यक्ति हुन् भनी बताएका छन्। कृष्णसिंह मोक्तानले अघि भने-‘हाम्रो विभूतिहरूको सम्मान गरिनुपर्छ, यस दिशामा सिलगढीले ठूलो कार्य गरिरहेको छ। आज नारी हस्तीहरुलाई सम्मान गरिनु भनेको शुभ लक्षण हुन्।’ कृष्णसिंह मोक्तानले आफ्नो सम्बोधनमा नेपाली भाषाले मान्यता पाए पनि नेपाली भाषामा रहेको दैनिक समाचार पत्र ‘हिमालय दर्पण’ कतिजनाको घरमा आउँछ भनी प्रश्न गर्दै हामीले नेपाली भाषामा रहेको पत्र पत्रिका पढ्न छोडेका छौं भनी बताएका छन्। उनले अन्य समुदायले वीर पूजा गर्ने गर्छन् र नै उनीहरू सबै क्षेत्रहरूमा अब्बल हुन्छन् भन्दै अब हाम्रो जातिले पनि लेखक स्रष्टाहरूको सम्मान र मान्यता दिनु पर्ने आवश्यकता देखिएको छ भनी बताएका छन्। उनले भानु जयन्ती प्रतियोगिता जस्तै एक दिन मात्रै गरेर हुँदैन तर प्रत्येकको घरमा सदैव भानुभक्तको तस्वीर झुण्डिएको हुनुपर्छ भनी बताएका छन्। कार्यक्रममा कञ्चनजंघा एफएम नेपालका प्रबन्ध निर्देशक चन्द्र भण्डारी, सम्मानित नारी स्रष्टाहरूबाट देविका मोक्तानले वक्तव्य राखेका थिए।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मिलन रुचाल, चन्द्र भण्डारी, थिरुप्रसाद नेपाल, शान्ति ठटाल, डा. गोकुल सिन्हा, डा. मोहन पी दाहाल, डा. कृष्णराज घतानी, डा नरेशचन्द्र खाती, ज्ञान सुतार लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा छिमेकी राष्ट्र नेपाल, सिक्किम, दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, बिजनबारी, डुवर्स, मंग्पु, सिटोङ, तीनधारे, सिलगढी लगायत विभिन्न क्षेत्रबाट साहित्यकार, समाज सेवकहरू लगायत विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरू उपस्थित रहेका थिए।









