कालचिनीः पञ्चायत चुनाउको घोषणा हुन अगावै तृणमूललाई झटका दिँदै आइतबार कालचिनी खण्डको चुवापाड़ा अञ्चल कमिटीका सक्रिय नेता अनि पञ्चायत सदस्यहरूले भाजपाको झण्डा समाएको छ। भाजपा अलिपुरद्वार सांसद जोन बारला लगायत कालचिनी विधायक विशाल लामा, मदारीहाट विधायक मनोज तिग्गा, कुमारग्राम विधायक मनोज उराँव र भाजपा अलिपुरद्वार जिल्ला सभापति भूषण मोदकको प्रमुख उपस्थितिमा आइतबार चुवापाड़ा अञ्चलका पूर्व सभापति बिक्रम विश्वकर्माको नेतृत्वमा चुवापाड़ा ग्राम पञ्चायत सदस्य कुणाल लामा, तृणमूल चुवापाड़ा अञ्चलका पूर्व चेयरम्यान समीरकुमार मिञ्ज, पञ्चायत समिति सदस्य रामबाबु साहा, र ट्रेड यूनियन नेता पुकार राणाको नेतृत्वमा प्रायः ३०० तृणमूल समर्थकहरू भाजपामा सामेल भएका छन्। आगामी पञ्चायत चुनाउमा चुवापाड़ा अञ्चल मात्र नभएर कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायतमा भाजपाको बोर्ड गठन हुने भाजपा नेताहरूले दाबी गरेका छन्।
तृणमूलका पूर्व कालचिनी ब्लक सभापति पासाङ लामाको कट्टर समर्थक रहेको बिक्रम विश्वकर्माले तृणमूललाई आफ्नो कुल सम्झेर संगठन गर्दै आइरहेको तर अहिले त्यही पार्टीले कुनै मान सम्मान नराखेको र नेतृत्व चुनाउमा गुटबाजी गरेको र सर्वसाधारण जनता र समर्तकहरूले तृणमूल नेतृत्व मन नपराएकोले नै गाउँले सर्वसाधारणको इच्छालाई मध्यनजर गर्दै आफूहरू प्रायः ३०० भन्दा अधिक समर्तकहरू साथमा लिएर सबैको साथ सबैको विकासमाथि आस्था राख्दै भाजपामा सामेल भएको जनाएका छन्।
ज्ञात रहोस, शनिबार मात्र अलिपुरद्वारमा तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको जनसभा सम्पन्न भएको थियो भने उक्त जनसभामा भाजपामाथि नै बर्सिएर मूलतः तृणमूल महासचिव तथा सांसद अभिषेक ब्यानर्जीले आफ्नो सम्भाषण राखेको थियो भने उक्त जनसभाको २४ घन्टा नबित्दै आइतबार चुवापाड़ा अञ्चलका सक्रिय तृणमूल नेताहरू यसरी भाजपामा सामेल भएको घटनाले तृणमूल खेमाभित्र खैलाबैला मच्चिएको छ।










