नेसाप सिक्किमद्वारा साहित्यिक र सांस्कृतिक कार्यक्रमसहित वैशाखी पर्व भव्य रूपमा सम्पन्न

n70845470417761878286303e7f95634d8aff790b8a8ee4cc069d88cc76fc19456816d0fdbc353929c49132

गान्तोक: नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले आज साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित वैशाखी पर्व भव्य रूपमा मनाएको छ। परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा मुख्यमन्त्रीका सल्लाहकार कुङ्गानिमा लेप्चा प्रमुख अतिथि थिए।
राजधानीको विकास क्षेत्रस्थित एससी भवनमा आयोजित कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा साहित्यिक तथा सम्मान कार्यक्रम समावेश थियो भने दोस्रो चरणमा सांस्कृतिक प्रस्तुति सम्पन्न गरियो।
कार्यक्रमको पहिलो चरणमा वर्ष २०२५ को साहित्य अकादमी पुरस्कारबाट सम्मानित साहित्यकार चन्द्रप्रकाश भट्टराईलाई अभिनन्दन गरिएको थियो। प्रमुख अतिथि लेप्चाले उनलाई अंगवस्त्र, स्मृति चिन्ह तथा अभिनन्दन पत्र प्रदान गरे। सम्मानित साहित्यकार भट्टराईले संक्षिप्त सम्बोधन पनि गरेका थिए।
मुख्य अतिथि लेप्चाले नयाँ वर्ष २०८३ को शुभकामना दिँदै उपस्थित विद्यार्थीहरूलाई आफ्नो भाषा, संस्कृति र परम्परा बुझ्न र संरक्षण गर्न आग्रह गरे। उनले नेपाली, भोटिया र लेप्चा समुदायका भाषा तथा संस्कृतिमा देखिँदै आएको चुनौतीप्रति चिन्ता व्यक्त गर्दै सांस्कृतिक अस्तित्व जोगाउन एकता र अखण्डता आवश्यक रहेको बताए।
कञ्चनजङ्घा राज्य विश्वविद्यालयका सहायक प्राध्यापक डा. कृष्ण सापकोटाले वैशाखी पर्वको महत्त्व र विशेषताबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
त्यसैगरी एलिशा छेत्री, प्रेमनारायण प्रधान, दिननाथ शर्मा र हेमराज अधिकारीले कविता वाचन गरेका थिए। कार्यक्रम सञ्चालन नेसापकी कार्यकारिणी सदस्य उषा शर्माले गरेकी थिइन् भने अध्यक्ष हरि ढुङ्गेलले पनि सम्बोधन गरेका थिए।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रममा कलाकारहरूले कालजयी नेपाली गीतहरू प्रस्तुत गरेका थिए। सिक्किमका युवा गायकहरू प्रितम राई, मिलन विश्वकर्म, प्रणिता छेत्री र मोणिका राईले पुराना नेपाली गीतहरू प्रस्तुत गरेर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

About Author

Advertisement