अम्बेडकर जयन्तीमा स्वास्थ्य र शिक्षामा जोड

n70846744917761868047709cd625db182f1e9f2f254dd0ddb037720f51457f7163a42087bbc42de8da91cc

गान्तोक: सिक्किम विधानसभा परिसरमा डा. भीमराव अम्बेडकर को आज १३५औँ जयन्ती मनाइएको छ। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर प्रमुख अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा सहभागी भए।
कार्यक्रमको सुरुवात शहरी विकास विभागको सहयोगमा कोटक महिन्द्रा ब्याङ्कको सामाजिक उत्तरदायित्व पहलअन्तर्गत उन्नत जीवनरक्षक उपकरणले सुसज्जित दुईवटा आधुनिक एम्बुलेन्स उद्घाटनबाट गरिएको थियो। उक्त एम्बुलेन्स एसटीएनएम अस्पताललाई समर्पित गरिएको छ, जसलाई राज्यको स्वास्थ्य सेवा अझ सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
यसैगरी, कोटक महिन्द्रा ब्याङ्कले पाँचवटा सरकारी विद्यालयहरूको समग्र विकासमा सहयोग गर्ने प्रस्ताव राखेको छ, जसमध्ये दुईवटा विद्यालयलाई राज्यपाल स्वयंले संरक्षणमा लिएका छन्।
त्यसपछि, राज्यपालसहित उपस्थित अतिथिहरूले डा. अम्बेडकरको प्रतिमामा पुष्प अर्पण गरी श्रद्धाञ्जलि दिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले अम्बेडकरले सबैलाई समान अवसर प्राप्त हुने समाजको परिकल्पना गरेको उल्लेख गरे। शिक्षा, स्वास्थ्य र सामाजिक सद्भावका क्षेत्रमा भइरहेका प्रयासहरूले सोही दिशामा अघि बढिरहेको उनले बताए। “कुनै पनि वर्ग पछाडि नपरोस् भन्ने सुनिश्चित गर्न हामी सबै मिलेर काम गर्नुपर्छ,” उनले भने।
उनले बाबा साहेबको विरासतप्रति साँचो श्रद्धाञ्जलि निष्पक्षता, विविधताको सम्मान र समाजसेवाप्रतिको प्रतिबद्धताबाट मात्र सम्भव हुने उल्लेख गरे। साथै न्याय, समानता र भ्रातृत्वको भावनालाई बलियो बनाउन र संविधानका आदर्शहरूलाई प्रत्येक नागरिकको जीवनमा उतार्न उनले आह्वान गरे।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका चार जनालाई सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा वेस्ट पाण्डमका विधायक मदन एलबी दास, जूम सालघारी क्षेत्रका विधायक मदन सिञ्चुरी, सहायक मुख्य सचिव आर. तेलाङ तथा अनुसूचित जाति समुदायकी प्रथम महिला प्रहरी अधीक्षक पारु रुचाल रहेका छन्। साथै अनुसूचित जातिका कक्षा १० र १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।

About Author

Advertisement