सोरेङका सुकराज सुब्बालाई ‘भानु पुरस्कार’
गान्ताेक: सिक्किमको नेपाली साहित्य जगत्मा एउटा ठूलो अनि गौरवमय समाचार सुन्नमा आएको छ। नेपाली साहित्य परिषद् (नसाप) सिक्किमले यस वर्षको प्रतिष्ठित ‘भानु पुरस्कार २०२६’-का निम्ति सोरेङका रैथाने, वरिष्ठ साहित्यकार सुकराज सुब्बा (एस.आर. सुब्बा)-को नाम घोषणा गरेको छ।
हिजो परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको एउटा महत्त्वपूर्ण बैठकपछि यो ठूलो निर्णय सार्वजनिक गरिएको हो।
विगत लामो समयदेखि नेपाली भाषा-साहित्यको सेवामा निरन्तर लागिपर्नु भएका सुकराज सुब्बा सिक्किम एकेडेमीका पूर्व अध्यक्ष पनि हुन्। उहाँका दुईवटा चर्चित नेपाली साहित्यिक कृतिहरू प्रकाशित भइसकेका छन्। साहित्यप्रतिको उहाँको यही अथक योगदान र समर्पणलाई कदर गर्दै परिषद्ले उहाँलाई यो उच्च सम्मान दिने निर्णय गरेको बुझिएको छ।
परम्पराअनुसार, आगामी १३ जुलाईका दिन धुमधामसँग मनाइने भानु जयन्ती समारोहको पावन अवसरमा उहाँलाई यो पुरस्कार टक्र्याइने भएको छ।
पहाडका वरिष्ठ साहित्यकार सुब्बाले यो गरिमामय पुरस्कार पाउने खबरले यतिबेला सिक्किम मात्र नभएर दार्जिलिङ, डुवर्स अनि सम्पूर्ण नेपाली साहित्यिक क्षेत्रमा हर्षको लहर छाएको छ। सबैतिरबाट उहाँलाई बधाई अनि शुभकामना दिनेहरूको ओइरो लागिरहेको छ।










