खरसाङ (१८ सेप्टेम्बर): नेपाली भाषा मान्यता आन्दोलनका एक योध्दा, भाषा सङ्ग्रामी एंव भारतीय गोर्खाहरुका एक स्तम्भ बुद्धिमान प्रधान ‘बमप’ को निधन भएको छ। उनको निधन शुक्रवार बिहान ९ बजीतिर खरसाङको सन्त मेरिजस्थित निजी बासस्थानमा भएको छ।
उनी विगत केही समयदेखि बिरामी अवस्थामा रहेकका थिए। उनले आफूपछि छोरा बुहारी, छोरी-ज्वाइँ र नाता नातिनीहरु छाडि गएका छन्। उनी ९७ वर्ष पुगेका थिए। उनको जन्म खरसाङको सिंगेल चियाबारीमा १९३० सालमा भएको थियो। बुद्धिमान प्रधान ‘बमप’ नेपाली भाषा मान्यता आन्दोलनमा सक्रिय रूपमा काम गरेका थिए। नेपाली भाषा मान्यताको आन्दोलनको अन्तिम चरणमा भारतीय नेपाली राष्ट्रिय परिषद् गठन भएपछि उनले सचिवको रुपमा सक्रिय रूपमा काम गरेका थिए। उनी भारतीय गोर्खा परिसंघको पनि संस्थापक सदस्यहरुमध्ये एक हुन्। भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’को अन्तिम संस्कार शनिवार खरसाङको सन्त मेरिजस्थित निजी बासस्थानबाट गरिने पारिवारिक सूत्रबाट थाहा लागेको छ। भाषा संग्रामी बुद्धिमान प्रधान ‘बमप’को निधनमा खरसाङका विभिन्न संघ संस्थाहरु र व्यक्ति विशेषको तर्फबाट श्रध्दाञ्जली अर्पण गरिएको छ। उनको निधनमा भारतीय गोर्खाहरुको सबैभन्दा पुरानो साहित्यिक र सामाजिक संस्था गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको मूल सचिव गोमा सुब्बाले बताएकी छन्। उनले एक प्रेस विज्ञप्ति जारी गर्दै भनिन् – ‘वरिष्ठ साहित्यकार, भाषाविद्,भाषा संग्रामी साथै गोर्खाजन पुस्तकालय खरसाङका आजीवन सदस्य, अत्ति नै नजिकका शुभचिन्तक बुद्धिमान प्रधान ‘बमप’ को निधनले समग्र गोर्खा समाजलाई नै अपूर्णीय क्षति पुर्याएको छ। गोर्खा जनपुस्तकालय उनको आत्माले चिर शान्ति प्राप्त गरुन् अनि शोक संतप्त परिवारलाई यस घडी इश्वरले यो आघात सहन गर्ने शक्ति प्रदान गरुन् भनी प्रार्थना गर्द्छ।’
यसको साथै अखिल भारतीय नेवार संगठन खरसाङ आञ्चलिक समितिको तर्फबाट पनि श्रध्दाञ्जली अर्पण गरिएको जानकारी सचिव सुवास प्रधानले दिएका छन्। भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ को निधनमा खरसाङका विभिन्न संघ संस्थाहरु र समाजहरु अनि व्यक्ति विशेषको तर्फबाट गहिरो शोक प्रकट गर्दै शोकाकूल परिवारप्रति समवेदना प्रकट गरेका छन्।





