नेपाललाई सरकारी कर्मचारीको तलब वृद्धिले थपियो रू. ७५ अर्बको वित्तीय भार

0938925b-5c56-4019-8f44-52635c5ed108

चुनावी नारा विपरीत रास्वपा सम्मिलित सरकार दुई महिनामै वैदेशिक ऋणको भरमा

काठमाडौँ(नेत्र बिक्रम बिमली): नेपालका सरकारी कर्मचारीहरूको २१ प्रतिशत तलब वृद्धि गर्ने सरकारको हालैको निर्णयले मुलुकको अर्थतन्त्रमा गम्भीर वित्तीय चुनौती थपिदेखेको छ। यो वृद्धिले राज्यकोषमा वार्षिक रूपमा करिब ७ हजार ५ सय करोड रुपियाँको अतिरिक्त वित्तीय बोझ थपिने प्रक्षेपण गरिएको छ। आन्तरिक राजस्व सङ्कलनले चालु खर्च समेत धान्न धौधौ परिरहेको वर्तमान अवस्थामा यति ठूलो प्रशासनिक खर्च थपिँदा सरकार वैदेशिक ऋण र अनुदानमा अत्यधिक निर्भर हुनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ।
​यसै पृष्ठभूमिमा, निर्वाचनको समयमा वैदेशिक ऋणको चर्को विरोध गर्दै ‘परनिर्भरता अन्त्य गर्ने’ वाचा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सामेल भएको दुई महिनाभित्रै सरकारले करिब २ हजार करोड रुपियाँ वैदेशिक ऋण स्वीकार गरिसकेको छ। चुनावी एजेन्डा र सत्तामा पुगेपछिको व्यावहारिक आर्थिक संकटबीचको यो विरोधाभासले राजनीतिक र आर्थिक वृत्तमा नयाँ बहस छेडिदिएको छ।
​सरकारले आगामी आर्थिक वर्षमा पनि विभिन्न बहुपक्षीय र द्विपक्षीय दातृ निकायहरूबाट कुल २ हजार ४७ करोड रुपियाँ बराबरको वैदेशिक ऋण तथा अनुदान परिचालन गर्ने व्यापक तयारी गरिरहेको छ। बहुपक्षीय दातृ निकायहरू तर्फ सबैभन्दा बढी अर्थात् १ हजार १६ करोड रुपियाँ एसियाली विकास बैंकबाट आउने सम्भावना छ भने अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ६३० करोड, संयुक्त पीपीबाट ४८४ करोड, एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (AIIB) बाट ४१२ करोड, अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) बाट ३१३ करोड, ओपेकबाट ४५ करोड र जीपीईबाट ३६ करोड रुपियाँ ऋणका रूपमा जुटाउने योजना छ। त्यसैगरी, द्विपक्षीय व्यवस्था अन्तर्गत विभिन्न मित्रराष्ट्रहरूबाट अनुदान र ऋण गरी कुल १ हजार ३७३ करोड रुपियाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ, जसमा भारतबाट ४९२ करोड, जर्मनीबाट ४६९ करोड, चीनबाट २७६ करोड र फिनल्यान्डबाट १३६ करोड रुपियाँ परिचालन गरिनेछ।
​आर्थिक विश्लेषकहरूका अनुसार सामान्यतया वैदेशिक ऋणलाई ठूला पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी गरिनुपर्ने हो, जसले दूरगामी प्रतिफल दिन सकोस्। तर, नेपाल सरकारले यी वैदेशिक स्रोतहरूलाई कर्मचारीहरूको तलब, भत्ता, पेन्सन र सेवानिवृत्ति व्यवस्थापन जस्ता प्रशासनिक र साधारण खर्च धान्नका लागि प्रयोग गर्ने प्रक्रिया अघि बढाएको छ। उत्पादकत्व नबढाई केवल प्रशासनिक दायित्व पूरा गर्न ऋण लिने यो परिपाटीले दीर्घकालमा मुलुकलाई थप ऋणको भासमा धकेल्ने र पूँजीगत निर्माण ठप्प पार्ने जोखिम बढाएको छ।

About Author

Advertisement