हेग: पाँच देशको औपचारिक वैदेशिक भ्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) पछि नेदरल्यान्ड्स पुग्नुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हेगमा बसोबास गर्ने भारतीय समुदायलाई सम्बोधन गर्नुभएको छ। डच राजधानीमा आयोजित विशेष समारोहमा भारतीय मूलका नागरिकहरूको बाक्लो र उत्साहजनक उपस्थिति देखेर प्रधानमन्त्री मोदीले आफूलाई केही बेरका लागि नेदरल्यान्ड्समा नभई भारतकै कुनै ठुलो चाडपर्वमा सहभागी भइरहेको अनुभूति भएको बताउनुभयो। डच समाज र त्यहाँको अर्थतन्त्रको विकासमा प्रवासी भारतीयहरूले पुर्याएको योगदानको प्रशंसा गर्दै उहाँले यसप्रति हरेक भारतीय नागरिकलाई गर्व रहेको उल्लेख गर्नुभयो।
सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले समुद्री किनार पार गरेर वर्षौँअघि यहाँ आएका प्रवासी नेपाली तथा भारतीयहरूको सङ्घर्ष र सफलताको चर्चा गर्नुभयो। अनेकौँ चुनौती र पुस्तान्तरणका बाबजुद पनि प्रवासी नेपाली र भारतीय समुदायले आफ्नो पुर्खाको भाषा, संस्कृति र पारिवारिक संस्कारलाई जीवित राखेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो। डच भाषा र संस्कृतिलाई आत्मसात् गर्दै आफ्नै मौलिक पहिचान जोगाउन यहाँ सञ्चालित कम्युनिटी रेडियोहरूले ठुलो भूमिका खेलिरहेको उहाँको भनाइ थियो। उहाँले १४० करोड भारतीयका तर्फबाट नेदरल्यान्ड्सका जनता र सरकारप्रति सद्भाव एवं आभार समेत प्रकट गर्नुभयो।

यसै क्रममा प्रधानमन्त्री मोदीले सन् २०१४ को मे १६ तारिखमा भारतमा दशकौँपछि पूर्ण बहुमतको स्थिर सरकार बनेको ऐतिहासिक दिनको स्मरण समेत गर्नुभयो। आजकै दिन लोकसभा निर्वाचनको नतिजा आएर आफ्नो प्रधानमन्त्रीय यात्राको सुरुवात भएको उल्लेख गर्दै उहाँले १३ वर्ष मुख्यमन्त्री र १२ वर्ष प्रधानमन्त्रीका रूपमा गरी लोकतान्त्रिक विश्वमा २५ वर्षसम्म जनताको निरन्तर समर्थन पाउनु आफ्नो ठुलो सौभाग्य भएको बताउनुभयो। देशवासीको यही अगाध विश्वास र आशीर्वाद नै आफ्नो ऊर्जाको मुख्य स्रोत रहेको भन्दै उहाँले भारतले अहिले ठुला सपना देखिरहेको र देशलाई सामान्य परिवर्तन मात्र नभएर हरेक क्षेत्रमा सबभन्दा उत्कृष्ट र तीव्र विकास चाहिएको दाबी गर्नुभयो।











