हारपछि ममताको घोषणा: पार्टी छोड्न चाहनेहरू जान सक्छन्, तृणमूल फेरि उठ्नेछ

mamata-banerjee-3-1774005661

कोलकाता: हालै सम्पन्न पश्चिम बंगाल विधानसभा निर्वाचनमा व्यहोर्नु परेको लज्जास्पद हारपछि तृणमूल कांग्रेस (टीएमसी) की अध्यक्ष ममता बनर्जीले पहिलोपटक मुख खोलेकी छन्। कालीघाटस्थित आफ्नै निवासमा आयोजित पार्टीका उम्मेदवारहरूको विशेष समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले पार्टी छोड्न चाहनेहरूका लागि बाटो खुला रहेको स्पष्ट पारेकी छन्। निर्वाचन परिणामपछि रक्षात्मक बनेका नेता तथा कार्यकर्ताहरूको मनोबल बढाउन आयोजना गरिएको उक्त बैठकमा ममताले भनिन्, “जो मानिसहरू पार्टी छोडेर अर्को दलमा जान चाहन्छन्, उनीहरू जानका लागि पूर्ण रूपमा स्वतन्त्र छन्, म पार्टीलाई बिल्कुलै नयाँ शिराबाट पुनः खडा गर्नेछु।”
​पार्टीका राष्ट्रिय महासचिव अभिषेक बनर्जीको समेत उपस्थिति रहेको उक्त बैठकमा पूर्व मुख्यमन्त्री बनर्जीले भर्खरै सम्पन्न चुनावमा जनताको जनादेश लुटिएको आरोप समेत लगाइन्। उनले गम्भीर संकट र धम्कीका बीच पनि दृढतापूर्वक चुनाव लडेका उम्मेदवारहरूको प्रशंसा गर्दै क्षतिग्रस्त भएका पार्टी कार्यालयहरूलाई पुनः मर्मत सम्भार र रङ्गरोगन गरी सञ्चालनमा ल्याउन निर्देशन दिएकी छन्। आवश्यकता परेमा आफू स्वयं पनि ती कार्यालयहरू रङ्गाउन तयार रहेको भन्दै उनले तृणमूल कांग्रेस कसैका सामु नझुक्ने दृढता व्यक्त गरिन्।
​पछिल्लो चुनावी नतिजा अनुसार पश्चिम बंगालको २९४ सदस्यीय विधानसभामा तृणमूल कांग्रेस मात्र ८० सिटमा खुम्चिएको छ। सन् २०२६ को यस ऐतिहासिक निर्वाचनमा सुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) ले शानदार बहुमत ल्याई पहिलोपटक पश्चिम बंगालमा सरकार गठन गरिसकेको छ। मुख्यमन्त्री ममता बनर्जी स्वयं पनि आफ्नो गढ मानिएको भवानीपुर क्षेत्रमा भाजपाका सुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतान्तरले पराजित भएकी थिइन्। १५ वर्ष लामो सत्ता गुमाएर ठूलो राजनीतिक धक्का ब्यहोरेको टीएमसीका लागि यो समीक्षा बैठकलाई आगामी दिनमा सङ्गठन पुनः निर्माणको रणनीतिक सुरुवातका रूपमा हेरिएको छ।

About Author

Advertisement