नयाँ दिल्ली: सरकारी नीतिगत सहयोग र निर्यातकर्ताहरूको निरन्तरको सक्रियताका कारण अक्टोबर महिनामा भारतको निर्यात प्रदर्शन निकै उत्साहजनक र ऊर्जाप्रद देखिएको भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले जनाएको छ। यसले भारतीय उद्योगको लचिलोपन, प्रतिस्पर्धात्मक क्षमता र विश्वबजारमा बढ्दो उपस्थितिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको परिसङ्घको ठहर छ।
सीआईआईका अनुसार अक्टोबर महिनामा भारतको वस्तु तथा सेवातर्फको कुल निर्यात ८९ अर्ब ९९ करोड अमेरिकी डलर अनुमान गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब ३० प्रतिशतको प्रभावशाली वृद्धि हो। त्यस्तै, आर्थिक वर्ष २०२६–२७ को अप्रिलदेखि अक्टोबरसम्मको सात महिनाको अवधिमा भारतको संचित निर्यात ५६८ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६६ प्रतिशतको सुदृढ वृद्धि हो।
विशेषगरी गैर-पेट्रोलियम पदार्थहरूको निर्यातमा देखिएको बलियो प्रदर्शन निकै सकारात्मक रहेको सीआईआईले उल्लेख गरेको छ। इलेक्ट्रोनिक सामान, इन्जिनियरिङ वस्तु, रसायन, रत्न तथा आभूषण र कपडा (टेक्सटाइल) जस्ता क्षेत्रहरूले उल्लेखनीय वृद्धि हासिल गरेका छन्। यसले भारतको निर्यात बास्केटमा बढ्दो विविधीकरण र मजबुतीलाई पुष्टि गरेको छ।
सीआईआई राष्ट्रिय निर्यात समितिका अध्यक्ष तथा प्याटन इन्टरनेशनल लिमिटेडका प्रबन्ध निर्देशक सञ्जय बुधियाले यी उपलब्धिहरू प्रशंसनीय रहे पनि भारतको निर्यात सम्भावना अझै धेरै रहेको बताउनुभएको छ। चुनौतीपूर्ण विश्वव्यापी परिवेशका बाबजुद निर्यातकर्ताहरूले देखाएको दृढ सङ्कल्प, उद्यमशीलता र लचिलोपनकै कारण यो सफलता सम्भव भएको उहाँको भनाइ छ। साथै, सरकारको निरन्तर नीतिगत सहयोग, विशेषगरी स्वतन्त्र व्यापार सम्झौता (एफटीए) र निर्यात प्रवर्द्धन मिसनमार्फत भारतीय व्यवसायहरूलाई विश्वव्यापी उपस्थिति विस्तार गर्न सहज वातावरण सिर्जना भइरहेको बुधियाले उल्लेख गर्नुभएको छ।
सरकार र उद्योग क्षेत्रबीचको निरन्तर सहकार्यबाट भारतले वस्तु र सेवा दुवै क्षेत्रमा छुट्टाछुट्टै १ ट्रिलियन अमेरिकी डलर निर्यात पुर्याउने महत्वाकाङ्क्षी लक्ष्य हासिल गर्न सक्षम हुने विश्वास व्यक्त गरिएको छ। यस राष्ट्रिय अभियानलाई अघि बढाउन र विश्व व्यापारमा भारतको स्थान अझ सुदृढ बनाउन सरकार र उद्योगसँग काँधमा काँध मिलाएर काम गर्न सीआईआई दृढ प्रतिबद्ध रहेको अध्यक्ष बुधियाले स्पष्ट पार्नुभएको छ।





