नारी शक्ति वन्दन अधिनियम पारित नभएकोमा एसकेएमद्वारा दुःख व्यक्त: सन् २०२९ अघि नै लागू गर्न माग

FB_IMG_1776513178065

गान्तोक: सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले ‘नारी शक्ति वन्दन अधिनियम’ संसदबाट पारित हुन नसकेकोमा गहिरो दुःख व्यक्त गर्दै यसलाई दुर्भाग्यपूर्ण बताएको छ। एसकेएमले उक्त अधिनियम आगामी सन् २०२९ को निर्वाचनअघि नै लागू हुनुपर्ने माग समेत गरेको छ।
​अधिनियमको समर्थनमा शुक्रबार राजधानी गान्तोकमा भव्य र्‍याली निकालिएको थियो। र्‍याली आयोजक समितिकी अध्यक्ष एवं सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापाले यो विधेयकलाई महिला अधिकारका लागि ऐतिहासिक पहल मानिए पनि विपक्षीहरूको अवरोधका कारण पारित हुन नसक्नु दुःखद भएको बताउनुभयो। उहाँका अनुसार शुक्रबारको र्‍यालीले सिक्किमेली महिलाहरू आफ्नो अधिकारप्रति सचेत रहेको प्रमाणित गरेको छ।
​यसैगरी, विधायक एवं आयोजक समितिकी उपाध्यक्ष कला राईले निकै आशा गरिएको निर्णय नआउँदा सिक्किमका सम्पूर्ण महिलाहरू स्तब्ध भएको बताउनुभयो। उहाँले आगामी दिनमा यसलाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउन माग गर्नुभयो।
​मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले र्‍यालीको माध्यमबाट सिक्किम देशको मूलधारमा जोडिएको उल्लेख गर्दै विपक्षीहरूले फैलाएको भ्रमका कारण विधेयक रोकिएको आरोप लगाउनुभयो। “यो सङ्ग्राम हारेको होइन, अहिलेलाई स्थगित मात्र भएको हो,” खालिङले भन्नुभयो, “विपक्षीहरूले दलीय एजेन्डाभन्दा माथि उठेर यसलाई समर्थन गर्नुपर्छ।”
​यसैबीच, मुख्यमन्त्रीका अर्का राजनीतिक सचिव विकास बस्नेतले विधेयक पारित नहुनुमा ‘इन्डी’ गठबन्धन दोषी रहेको आरोप लगाउनुभयो। उहाँले १७ अप्रिल २०२६ लाई भारतीय लोकतन्त्रको इतिहासमा ‘कालो दिवस’ का रूपमा स्मरण गरिने टिप्पणी गर्नुभयो।
​विधेयक वैधानिक रूपमा पारित नभए पनि मुख्यमन्त्री प्रेमसिंह तामाङले एसकेएम सरकार र पार्टीका हरेक फोरममा महिलाहरूलाई उचित स्थान र अवसरहरू दोब्बर बनाएर लैजाने घोषणा गरेको जानकारी सचिव खालिङले दिनुभएको छ।

About Author

Advertisement