गोरुबथानमा विशाल चुनावी सभा: हिमन्त विश्व सरमा र सांसद राजु विष्टद्वारा भारत क्षेत्रीलाई समर्थन

FB_IMG_1776520321729

कालिम्पोङ: दार्जीलिङका सांसद राजु विष्टको पहलमा गोरुबथान क्षेत्रमा आयोजित एक विशाल चुनावी सभामा असमका मुख्यमन्त्री हिमन्त विश्व सरमाले कालेबुङका भाजपा गठबन्धन उम्मेदवार भारत क्षेत्रीको समर्थनमा सम्बोधन गरे।
सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सरमाले चिया बगानका श्रमिकहरूसँग प्रत्यक्ष संवाद गर्दै असममा भाजपा सरकारले चिया श्रमिकहरूलाई पश्चिम बंगालको तुलनामा उच्च तलब र थप सुविधा उपलब्ध गराएको दाबी गरे। उनले तीन लाखभन्दा बढी चिया बगान श्रमिकहरूलाई पर्जा पट्टा प्रदान गरिएको र प्रत्येक परिवारलाई आवास योजनामार्फत घर निर्माणको अवसर दिइएको उल्लेख गरे। साथै, आगामी दिनमा असममा चिया श्रमिकहरूको दैनिक ज्याला चार सय पचास रुपैयाँ पुर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरे।

उनले पश्चिम बंगालको सत्तारूढ तृणमूल कांग्रेस सरकारमाथि आरोप लगाउँदै चिया बगानको जमिन ठूला लगानीकर्तालाई दिएर श्रमिकहरूलाई वञ्चित गरिएको दाबी गरे। चिया बगानको जमिनमा पहिलो अधिकार श्रमिकहरूको नै हुनुपर्ने उहाँको भनाइ थियो।
सीमा सुरक्षाको विषय उठाउँदै उनले भारत–बंगलादेश सीमामा अवैध आप्रवासन र जनसांख्यिक परिवर्तन गम्भीर समस्या बनेको उल्लेख गरे। उनले पश्चिम बंगाल सरकार र मुख्यमन्त्री ममता बनर्जीमाथि भोट बैंकको राजनीतिका लागि अवैध घुसपैठलाई संरक्षण दिएको आरोप लगाए। साथै, सीमा क्षेत्रमा तारबार कार्यका लागि आवश्यक जमिन उपलब्ध नगराइएको दाबी गर्दै भाजपा सरकारले पूर्ण रूपमा सीमा सुरक्षालाई सुनिश्चित गर्ने बताए।
उनले उत्तर बंगाल, विशेष गरी गोर्खा समुदायप्रति भइरहेको कथित भेदभावको आलोचना गर्दै केन्द्र सरकारको नेतृत्वमा स्थायी राजनीतिक समाधान ल्याइने दाबी गरे। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको नेतृत्वमा क्षेत्रको विकासका लागि ठूला शैक्षिक संस्था र स्वास्थ्य सेवा विस्तार गरिने उनले बताए। उत्तर बंगालमा उच्चस्तरीय अस्पताल, प्राविधिक शिक्षालय तथा पर्यटन पूर्वाधार विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको जनाए।
सभामा बोल्दै सांसद राजु विष्टले चिया श्रमिक, सिन्कोना श्रमिक र वनवस्तीका बासिन्दाहरूलाई जमिनको अधिकार दिलाउने, रोजगारीका अवसर विस्तार गर्ने तथा युवाहरूका लागि आर्थिक सहयोग योजना ल्याउने कुरा दोहोर्याए। उनले आगामी दिनमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सार्वजनिक गरे।
सभाको अन्त्यमा नेताहरूले कालेबुङका मतदाताहरूलाई उम्मेदवार भारत क्षेत्रीलाई मत दिएर विजयी बनाउन आग्रह गरे। उनीहरूले क्षेत्रीलाई इमानदार र समर्पित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै उनको विजयले गोर्खा समुदायको सम्मान र क्षेत्रको विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।

About Author

Advertisement