नाम्ची र मंगनमा नार्को कर्डिनेसन सेन्टरको सभा सम्पन्न

IMG-20240720-WA0242

गान्तोक: मंगन जिल्लाको जिल्लापाल कार्यालयमा आज जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको एक सभा सम्पन्न भयो। जिल्लापाल अन्नत जैनको अध्यक्षतामा सम्पन्न भएको सभामा पुलिस अधिक्षक सोनम देट्चु भोटिया, अतिरिक्त जिल्लापाल विसु लामा लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। सभामा विशेष गरेर मंगन जिल्लामा नशालु पदार्थलाई नियन्त्रण गर्नको निम्ति रणनीति तयार गरिनेबारे छलफल भयो। यसरी नै समितिले नशा मुक्त भारत अभियान (लागू पदार्थ दुरुपयोग विरुद्ध प्रमाणमा आधारित दृष्टिकोण अभिवृद्धि गर्ने ध्वाजवाहक अभियान) सँग समन्वय गरी सामाजिक कार्यमा सचेतना कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल गरेको थियो।यस प्रकारको कार्यक्रमलाई ग्रामसभामा पनि प्रभावकारी रूपमा ग्रामीण क्षेत्रसम्म पुर्‍याउन समावेश गरिनेछ। पुलिस विभागबाट लागुऔषध सम्बन्धी विद्यमान कानुनी मुद्दाहरुको अपडेट समेत प्रस्तुत गरिएको थियो। यसै क्रममा नाम्ची जिल्लामा पनि मासिकरूपमा आयोजना गरिने नार्को कर्डिनेसन सभा आज जिल्लापालको कार्यालयमा सम्पन्न भयो। यस अवसरमा नाम्ची जिल्लामा नशालु पदार्थ बेच बिखनलाई लगाम लगाउनको निम्ति रणनीति तयार गर्नेबारे छलफल गरियो। सभालाई सम्बोधन गर्दै जिल्लापाल अनुपा ताम्लिङ नशालु पदार्थ दुर्व्यसन न्यूनीकरणका लागि माग र आपूर्तिको श्रृङ्खलालाई अवरुद्ध गर्नुपर्नेमा जोड दिइन्। उनले नशालु पदार्थको मागलाई कमी गराउनको निम्ति विभिन्न प्रस्ताव राखिन र संलग्न सबै लाइन विभागहरू बीच स्पष्ट समन्वय राखे काम गर्नुपर्ने आग्रह गरेकी छन्। यसै क्रममा वरिष्ठ पुलिस अधिक्षक डा. टीएन ग्याछोले नशालु पदार्थ सम्वन्धि पुलिस विभागले पहल गरिरहेको र यसलाई लगाम लगाउनको निम्ति प्रयासरत रहेको बताए। उनले थप जानकारी गराए कुनै पनि चालकले भारी मात्रमा नशालु पदार्थको बेचविखन गरेको फेला परेमा लाइसेन्स रद्द गरिने र अहिलेसम्म 6 जनाको लाइसेन्स रद्द गरिसकेको अनि दुईवटा लाइसेन्स रद्द गरिने प्रक्रियामा रहेको अवगत गराए। आजको यस सभामा जिल्लापाल अनुपा तामलिङ, वरिष्ठ पुलिस अधिक्षक, अतिरिक्त जिल्लापाल लगायत विभिन्न विभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement