नाम्ची: जिल्ला अस्पताल नाम्चीको हाडजोर्नी विभागले एक जटिल मेरुदण्ड (स्पाइनल) शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरी जिल्लास्तरमै विशिष्टीकृत शल्यक्रिया सेवा विस्तारमा नयाँ कोशेढुङ्गा थपेको छ।
मेरुदण्डको गम्भीर समस्या (एल४–एल५ पीआईवीडी र एल५–एस१ डिस्क हर्नियसन) का कारण खुट्टाको स्नायु प्रणालीमा गम्भीर असर परी चाल हराएकी २३ वर्षीया महिला बिरामीको ‘ट्रान्सफोरामिनल लम्बर इन्टरबडी फ्युजन’ विधिबाट सफल शल्यक्रिया गरिएको छ।

अस्पतालका जोइन्ट रिप्लेसमेन्ट, आर्थ्रोस्कोपिक तथा स्पाइन सर्जन डा. कञ्चन गुरुङका अनुसार नाम्ची अस्पतालमा अहिलेसम्म १ हजारभन्दा बढी जोइन्ट रिप्लेसमेन्ट र आर्थ्रोस्कोपिक शल्यक्रिया भइसकेका छन्। अब अस्पतालले न्यूनतम चीरफार (मिनिमल इन्भेसिभ) मेरुदण्ड शल्यक्रिया र भविष्यमा रोबोटिक शल्यक्रिया सेवातर्फ पाइला बढाएको छ।
यस सफलतासँगै स्थानीय स्तरमै जटिल शल्यक्रिया उपलब्ध हुनाले बिरामीहरूले उपचारका लागि जिल्लाबाहिरका ठूला अस्पतालहरूमा जानुपर्ने बाध्यता हट्दै गएको छ।





