सऊदी अरबमा फेरि भेटियो विशाल ‘खजाना’

HSPXkX5bUAAZr8q

मदीनामा ११० मिलियन टन युरेनियम र दुर्लभ खनिज उत्खनन

​रियाद: सऊदी अरबको जमिनमा पुन: एकपटक बहुमूल्य खनिजको ठुलो भण्डार फेला परेको छ। सऊदी अरबका ऊर्जा मन्त्री प्रिन्स अब्दुलअजीज बिन सलमानले दिएको जानकारी अनुसार मदीना क्षेत्रमा युरेनियम र दुर्लभ खनिज (रेयर अर्थ) समावेश भएको ११० मिलियन (११ करोड) टन काँचो पदार्थको भण्डार पत्ता लागेको छ। उत्खनन गरिएको यस भण्डारको कुल मूल्य अझै स्पष्ट भइसकेको छैन, तर विज्ञहरूका अनुसार यो खजाना अर्बौँ डलर बराबरको हुन सक्ने अनुमान गरिएको छ। सऊदी अरबमा पहिलेदेखि नै खनिज तेलको ठुलो भण्डार रहेकोमा अब यो नयाँ प्राकृतिक स्रोत पनि थपिएको छ।
​अरब न्युजले ऊर्जा मन्त्री अब्दुल अजीजलाई उद्धृत गर्दै जनाए अनुसार मदीनास्थित जबल सय्यद परियोजनामा गरिएको भूवैज्ञानिक अध्ययनबाट त्यहाँ करिब ११० मिलियन (११ करोड) टन अयस्कको भण्डार रहेको पुष्टि भएको छ। यसमा भारी तत्त्वहरूसहितका दुर्लभ खनिज र राम्रो मात्रामा युरेनियम मौजूद रहेको छ।
​सऊदीको भिजन-२०३०
अरब क्षेत्रको सबैभन्दा ठुलो अर्थतन्त्र मानिने सऊदी अरब मुख्य रूपमा तेलमा आधारित छ। विगत धेरै दशकदेखि खनिज तेल नै यहाँको अर्थतन्त्रको मुख्य आधार रहँदै आएको छ। यद्यपि, सऊदी अरबले हालैका वर्षहरूमा आफ्ना ऊर्जा र खनिज स्रोतहरूमा विविधता ल्याउने प्रयास तीव्र पारेको छ। यसका लागि देशमा विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
​सऊदी क्राउन प्रिन्स मोहम्मद बिन सलमान आफ्नो ‘भिजन २०३०’ ऊर्जा-विविधता अभियान अन्तर्गत देशको तेलमाथिको निर्भरता घटाउन सक्रिय छन्। यसै कार्यक्रम अन्तर्गत देशभित्रै युरेनियम उत्खनन गर्ने र नागरिक आणविक ऊर्जा विकसित गर्ने दिशामा महत्त्वपूण्र्ण कदमहरू चालिएका छन्।
​सऊदीलाई मिल्नेछ ठुलो राहत
युरेनियमयुक्त प्राकृतिक अयस्कको यो खोज यसकारण पनि महत्त्वपूर्ण छ, किनकि यो सऊदी अरबमा नागरिक आणविक कार्यक्रम विकसित गर्न अमेरिका र सऊदी अरबबिच भएको सम्झौतापछि बाहिर आएको हो। दुवै देशबिच जुलाई महिनामा यस सम्झौतामा हस्ताक्षर भएको थियो।
​सम्झौता अनुसार अमेरिकी कम्पनीहरूले सऊदी अरबको नागरिक आणविक ऊर्जा कार्यक्रम विकसित गर्न प्राविधिक सहयोग पुर्‍याउनेछन्। यो सम्झौताले रियादलाई अमेरिकी निगरानीबिनै आफ्नै भूभागमा युरेनियम संवर्धन गर्ने विकल्प पनि प्रदान गर्दछ।
​युरेनियमको प्रयोग
युरेनियम एक यस्तो धातु हो, जसको विश्वभर उच्च माग रहेको छ। यसको प्रयोग मुख्य रूपमा आणविक ऊर्जा उत्पादन र आणविक हतियार निर्माणमा गरिन्छ। युरेनियम ६० वर्षभन्दा बढी समयदेखि सघन ऊर्जाको प्रचुर स्रोतका रूपमा प्रयोग हुँदै आएको छ।
​युरेनियमको खोज १७८९ मा जर्मन रसायनशास्त्री मार्टिन क्लाप्रोधले पिचब्लेन्ड नामक खनिजमा गरेका थिए। यसको नाम युरेनस ग्रहको नामबाट राखिएको थियो, जसको खोज त्यसको आठ वर्ष पहिले भएको थियो।

About Author

Advertisement