नामचीमा ईसीआई निर्देशकको अध्यक्षतामा समीक्षा बैठक

n71470967617805057089548c68807c9dd10c29ef976fa0cf33119dd707194de703931a3e449b5d409e37bd

एसआईआर संशोधन प्रक्रियाको मूल्याङ्कन ​

नामची: भारत निर्वाचन आयोग (ईसीआई) की निर्देशक शुभ्रा सक्सेनाको अध्यक्षतामा बुधबार नामची जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) को जारी अभ्यास प्रक्रियामाथि एक महत्त्वपूर्ण समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा चुनाउ पञ्जीकरण अधिकारी (ईआरओ), सहायक चुनाउ पञ्जीकरण अधिकारी (एईआरओ) र बुथस्तरीय अधिकारी (बीएलओ) हरूको बाक्लो उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै निर्देशक सक्सेनाले विशेष गहन संशोधनको महत्त्व र उद्देश्यमाथि विस्तृत रूपमा प्रकाश पारिन् तथा एकदमै सही र समावेशी मतदाता नामावली कायम राख्नुपर्ने आवश्यकता बारे व्याख्या गरिन्। राज्यमा यो विशेष अभ्यास सञ्चालन गर्नुको औचित्य प्रष्ट पार्दै उनले भनिन् कि यस संशोधनले अयोग्य प्रविष्टिहरूलाई पूर्ण रूपमा हटाएर केवल योग्य मतदाताहरू मात्र पञ्जीकरण भएको सुनिश्चित गर्दै मतदाता सूचीलाई त्रुटिरहित बनाउने लक्ष्य राखेको छ।
​चुनाउ प्रक्रियाको निष्पक्षता र अखण्डताको रक्षा गर्न निर्वाचन अधिकारीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउँदै सक्सेनाले यो अभ्यासलाई अत्यन्त लगनशीलता र जिम्मेवारीका साथ सम्पन्न गर्न जोड दिइन्। सिक्किमको अन्तर्राष्ट्रिय सीमाको संवेदनशीलतालाई ध्यानमा राख्दै उनले अवैध बसाइँसराइको सम्भावना औंल्याइन् र मतदाता सूचीमा कुनै पनि अयोग्य व्यक्तिको नाम समावेश हुन नदिन प्रमाणीकरण प्रक्रियामा पूर्ण रूपले सतर्क रहन अधिकारीहरूलाई आग्रह गरिन्। नक्साङ्कन (मैपिङ) को कार्य अत्यन्त सावधानीपूर्वक, उचित समीक्षा र पूर्ण प्रमाणीकरणका साथ गरिनुपर्ने तथा बीएलओहरूले कुनै पनि योग्य मतदाता नछुट्ने र अयोग्य समावेश नहुने गरी प्रोटोकलको कडा पालना गर्नुपर्ने उनको निर्देशन थियो। बैठकका क्रममा सक्सेनाले प्रत्येक निर्वाचन क्षेत्रको नक्साङ्कन स्थिति र बीएलओहरूले गरेको प्रगतिको समीक्षा गर्नुका साथै प्रमाणीकरणका नाममा नागरिकहरूलाई अनावश्यक रूपमा सास्ती नदिन सल्लाह दिइन्। उनले बीएलओहरूसँग अन्तर्क्रिया गरी एसआईआर २०२६ को कार्यान्वयनसम्बन्धी शङ्काहरू स्पष्ट पारिन् भने जिल्ला चुनाउ अधिकारी (डीईओ) लाई प्रगतिको अनुगमन गर्न नियमित समीक्षा बैठक बस्न निर्देशन दिइन्। बैठकमा नामचीकी जिल्ला चुनाउ अधिकारी अनुपा तामलिङले पावरपोइन्ट प्रस्तुतिमार्फत तालिम, गणना फाराम र जिल्लामा हेल्प डेस्क स्थापना लगायतका तयारीबारे जानकारी गराएकी थिइन् भने यस समीक्षा बैठकअघि निर्देशक सक्सेनाले नामची तिमी चिया कमानको भ्रमण समेत गरेकी थिइन्।

About Author

Advertisement