सिलगढी: नाबालिगमाथि यौन शोषण गरेको आठ वर्ष पुरानो मुद्दामा जलपाईगुडीको दोस्रो अतिरिक्त जिल्ला तथा सत्र अदालतले अभियुक्तलाई २२ वर्षको कठोर कारावासको सजाय सुनाएको छ। सिलगढी पुलिसअन्तर्गत भक्तिनगर थाना क्षेत्रका बासिन्दा राहुलकुमार दासलाई पोक्सो ऐन र भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत दोषी ठहर गर्दै अदालतले उक्त फैसला सुनाएको हो।
सन् २०१८ जनवरी ८ मा भक्तिनगरको आशिघर निवासी दासमाथि एक नाबालिगलाई नशालु पदार्थ खुवाएर तथा धम्की दिएर यौन शोषण गरेको आरोपमा मुद्दा दर्ता भएको थियो। भक्तिनगर थानाका उप-निरीक्षक (एसआई) विश्वजित घोषले घटनाको गहन अनुसन्धान गरी अभियुक्तलाई पक्राउ गर्नुका साथै अदालतमा आरोपपत्र (चार्जसिट) पेस गर्नुभएको थियो।
अदालतले दोषी दासलाई भारतीय दण्ड संहिताको धारा ३६६ ‘ए’ अनुसार ७ वर्षको कठोर कारावास र १० हजार रुपियाँ जरिवाना (जरिवाना नतिरे थप १ वर्ष कैद) को सजाय सुनाएको छ। यसैगरी, धारा ३७६ ‘डी’ र पोक्सो ऐनको धारा ६ अनुसार छुट्टाछुट्टै २२/२२ वर्षको कठोर कारावास र ३०/३० हजार रुपियाँ जरिवानाको फैसला सुनाइएको छ।
अदालतको यस फैसलाले पीडितलाई न्याय दिलाउनुका साथै कानुनको शासन कायम राख्न सिलगढी पुलिसको प्रतिबद्धतालाई स्पष्ट पारेको छ।









