नरबुङ चियाबारीमा कार्यकारी सभासद योगेन्द्र प्रधानद्वारा बिजुली बत्ती जड़ानको लागि शिलान्यास

IMG-20230424-WA0328.jpg

खरसाङ: आज खरसाङ महुकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा १० नम्बर भिलेजमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका ऊर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधानको बाहुलीबाट ग्रामीण विद्युतीकरण कार्यको शिलान्यास गरिएको छ। नरबुङ चियाबारीको १० नम्बरमा रहेको कतिपय घरहरूमा अझैं पनि बिजुली बत्ती जड़ान गरिएको थिएन। त्यसैले उक्त गाउँमा बिजुली बत्तीको जड़ान गर्नलाई शिलान्यास कार्य आज सम्पन्न भएको छ। उक्त शिलान्यास कार्यक्रममा क्षेत्रीय सभासद नवराज क्षेत्री लगायत जीटीएको ऊर्जा विभागको एमओडी सभासद श्याम शेर्पा, सभासद प्रणाम रसाईली, जीटीएको उर्जा विभागका ईडी अरिजित मित्रा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। अब नरबुङ चियाबारीको १० नम्बर गाउँमा बिजुली बत्ती नपुगेका घरहरूमा बिजुली बत्तीको जडान गरिने कार्य सम्पन्न हुने भएको छ। उक्त क्षेत्रमा बिजुली बत्तीको जडानको लागि लागि शिलान्यास कार्यको लागि स्थानीयहरूले जीटीए चिफ् अनित थापा लगायत ऊर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधान, ऊर्जा विभागको एमओडी सभासदद्वय श्याम शेर्पा र प्रणाम रसाइली र क्षेत्रीय सभासद नवराज छेत्रीप्रति आभार प्रकट गरेका छन्। यस शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधानले भने, तपाईहरूले एकता देखाएर भगोप्रमोलाई बलियो बनाएको कारणले गर्दा नै यहाँ विकासको कार्य भईरहेको छ। यसरी नै भविष्यमा पनि पार्टीलाई बलियो बनाएर लाने तथा आगामी पञ्चायत चुनावमा पनि भागोप्रमोलाई जिताउने आह्वान् गर्दछु। भविष्यमा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा स्ट्रीट लाइट जड़ानको कार्य पनि गरिने र विस्तारै सबैतिर विकासको कार्यहरू हुँदै जानेछ।’

About Author

Advertisement