खरसाङ: तीनधारेको नयाँ कमानमा नयाँ कमान भेटरेन क्लबको आयोजनामा भईरहेको ओपेन नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत आईतवार भएको दुईवटा खेलमा खोप्रेल एफसी र सिलिम हिल विजय बनेका छन्। नयाँ कमानको खेल मैदानमा आईतवार आयोजित पहिलो खेल खोप्रेल एफसी र जोगमायामाझ सम्पन्न भएको थियो। खेलमा खोप्रेल एफसी २-० को अन्तरले विजयी भएका छन्। यस खेलमा खोप्रेल एफसीको तर्फबाट अभिषेक तिर्की र राजा साईबोले गोल गरेका थिए।यस खेलमा खोप्रेल एफसीका अभिषेक तिर्कीलाई म्यान अफ् द म्याच घोषित गरिएको छ। त्यसरी नै दोस्रो खेल सिलिम हिल र सिमरिङमाझ सम्पन्न भएको छ। उक्त खेलमा सिलिम हिलले ३-० को अन्तरले सजिलै जितेर अघिल्लो चरणमा प्रवेश गरेको छ। सिलिम हिलको तर्फबाट अंकित तामाङले २ गोल र वाङ तामाङले एक गोल गरेका थिए। यस खेलमा सिलिम हिलका अंकित तामाङ म्यान अफ् द म्याच घोषित भएका छन्। यस खेलमा मुख्य निर्णायकको भूमिकामा प्रमोद प्रधान रहेका थिए भने सहायक निर्णायकको भूमिकामा सलमा लिम्बु र सुरेश ऊराव रहेका थिए।

यस दुईवटा खेलमा अतिथिको रुपमा नयाँ कमानमा स्वनिर्भर दलहरु लक्ष्मी, उमङ आदिका पदाधिकारीहरु साथै पालामान तामाङ, रुद्र प्रधान, सुर्जे तामाङ, एसआई हरिबहादुर शेर्पा, हर्कबहादुर प्रधान आदि उपस्थित रहेका थिए भनी नयाँ कमान भेटरेन क्लबको सल्लाहकार धिरेन प्रधानले जानकारी गराएका छन्। उनले दिएको जानकारी अनुसार अनुसार यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी ११ नोभेम्बरमा हुने भएको छ। उनले यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफिसहित एक लाख र उप विजेतालाई ट्रफिसहित पचास हजार नगदराशि पनि प्रदान गरिने भएको जानकारी गराएका थिए।





