११६ विद्यार्थीको सहभागिता, योग र मानसिक स्वास्थ्यबारे अभिमुखीकरण
जोरेथाङ: आयुष विभाग, सामुदायिक स्वास्थ्य केन्द्र जोरेथाङको आयोजनामा नन्दुगाउँस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा ‘आयुर्विद्या – आयुष विद्यालय स्वास्थ्य कार्यक्रम’ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा विद्यालयका ११६ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमकी स्रोतव्यक्ति (रिसोर्स पर्सन) डा. सजाना पौडेलले विद्यार्थीहरूलाई आयुष चिकित्सा पद्धति (आयुर्वेद, योग, युनानी, सिद्ध तथा होियोप्याथी) को परिचय गराउँदै कक्षा १२ पछि यस क्षेत्रमा रहेका शैक्षिक तथा वृत्ति विकास (करियर) का अवसरहरूबारे जानकारी गराउनुभयो।
विद्यालयको विशेष अनुरोधमा डा. पौडेलले किशोर-किशोरीहरूको मानसिक स्वास्थ्य, तनाव व्यवस्थापनका लागि गहिरो सास फेर्ने अभ्यास, ‘अलर्ट ५ सेन्सेस’ ग्राउन्डिङ प्रविधि, कृतज्ञता लेखन (ग्र्याटिच्युड जर्नलिङ) र ध्यान अभ्यासका विषयमा अन्तर्क्रियात्मक सत्र सञ्चालन गर्नुभयो। ‘योग ३६५’ अभियानअन्तर्गत विद्यार्थीहरूलाई शारीरिक स्वस्थता, भावनात्मक सन्तुलन र मानसिक कल्याणका लागि दैनिक जीवनमा योग र सरल विश्राम प्रविधिहरू अपनाउन प्रोत्साहन गरिएको थियो।
यसैगरी, ‘नशामुक्त भारत अभियान’ को उद्देश्यलाई सहयोग पुर्याउँदै कार्यक्रममा स्वस्थ जीवनशैली अपनाउन र लागूपदार्थको दुर्व्यसनबाट टाढा रहन आग्रह गरिएको छ।
विद्यार्थीहरूमा आत्मविश्वास र अभिव्यक्ति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको आशुभाषण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना विद्यार्थीलाई आयुष विभागका तर्फबाट प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रमको समापन ‘विद्यालय स्वास्थ्य राजदूत’ हरूको धन्यवाद ज्ञापनसँगै भएको थियो।










