खरसाङ: नगरपालिकामा काम गर्ने ग्रुप डी कर्मचारीहरूको वेतन अत्यन्तै कम भएकोमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले वेतन वृद्धि हुनु पर्ने कुरा उठाएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकारहरूसित कुराकानी गर्दै नगरपालिकामा कार्यरत् ग्रुप डी कर्मचारीहरूको अहिलेको महंगाई अनुसार वेतन एकदमै कम्ती भएको बताएका छन्। उनले नगरपालिकामा सबैभन्दा बेसी खट्ने साथै निरन्तर काम गर्ने डी ग्रुपको कर्मचारीहरूको वेतन अलिक बेसी हुनु पर्ने बताएका छन्। उनले नगरपालिकामा काम गर्ने कर्मचारीहरू केही ५ वर्ष, कोही १० वर्ष, कोही १५ वर्ष र केही २० वर्ष भए पनि उनीहरूको मासिक वेतन २०२४ मा आएर पनि केवल ६ हजार ८ सय मात्रै हुनु न्याय संगत नभएको बताएका छन्। रिम्पोर्छेले जीटीएमा कार्यरत् अस्थायी कर्मचारीहरूको मासिक वेतन २० देखि २६ हजार रहेको र नगरपालिकामा कार्यरत् ग्रुप डी कर्मचारीहरूको वेतन साह्रै कम्ती भएको छ र यस विषयमा क्षेत्रीय प्रशासन जीटीएले यसमाथि पहल गरेको होस् भनेर बताएका छन्। उनले नगरपालिकामा कार्यरत् कर्मचारीहरू शहरको सर सफाई र शहरलाई सफा र स्वच्छ राख्नलाई सदैव काम गरिरहेका हुन्छन् अनि उनीहरूको वेतन एकदमै कम्ती भएको कारणले उनीहरूले आफ्नो नानीहरू पढाउन र घर खर्च चलाउन पनि धेरै असुविधा भईरहेको बताएका छन्। उनले नगरपालिका कर्मचारीहरूको वेतन वृद्धिको लागि स्थानीय प्रशासनले झट्टै पहल गरेर वेतन बढाई दिनु पर्ने सुझाव पनि राखेका छन्।









