मुम्बई: आदित्य धरको निर्देशनमा बनेको फिल्म ‘धुरन्धर २’ ले यतिबेला विश्व बक्स अफिसमा १७०० करोडभन्दा बढीको व्यापार गरेर नयाँ कीर्तिमान रचिरहेको छ। फिल्मको यो अभूतपूर्व सफलतासँगै यसका गीतहरूमा स्वर दिने गायिका ज्यास्मिन स्यान्डलसको चर्चा पनि चुलिएको छ। ज्यास्मिनका ‘शरारत’ र ‘जाइए सजना’ जस्ता गीतहरू अहिले चार्टबस्टर बनेका छन् र सोसल मिडियामा लाखौँ रिल्सका साथै ज्यूकबक्समा समेत उनले धमाल मच्चाइरहेकी छिन्। धुरन्धर फ्रेन्चाइजीका दुवै भागले ३००० करोडभन्दा बढीको व्यापार गरिसक्दा ज्यास्मिन सफलताको शिखरमा पुगेकी छिन् तर उनको यो यात्रा भने निकै कष्टकर रहेको छ।
हालै एक पडकास्टमा आफ्नो जीवनको अँध्यारो पाटोबारे खुलासा गर्दै ज्यास्मिनले बाल्यकालमा आमाबुबाको कडा व्यवहारका कारण आफ्नो मन पटक–पटक टुटेको बताएकी छिन्। उनले आफ्नो निजी जीवनमा रहेको खालीपन र परिवार विखन्डन भएपछि आफूलाई पूर्ण रूपमा नशा र रक्सीमा डुबाएको स्वीकार गरेकी छिन्। बुबाको अभाव र घरभित्रको तनावका कारण उनी धेरै वर्षसम्म मानसिक पीडासँग जुधिरहिन् र सधैँ एउटा सुरक्षित ‘घर’ को खोजीमा भौँतारिरहिन्। जालन्धरमा जन्मिएर अमेरिकामा हुर्किएकी ज्यास्मिनले सलमान खानको फिल्म ‘किक’ को चर्चित गीत ‘यार न मिले’ बाट पहिचान बनाए पनि लामो समयको व्यक्तिगत संघर्ष र नशाको लतलाई जितेर अहिले उनी पुनः विश्वभर आफ्नो स्वरको जादु छर्न सफल भएकी छिन्।










