झापा: सुनसरी जिल्लाको धरानका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ। जुलाई १५ देखि बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरूमा भाकल पूरा गर्न आउने भक्तजनको सोमबार भीड लागेको हो। जुलाईको दोस्रो शनिबार , आईतबार र सोमबार सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताए। शनिबार मात्र पाँच हजारभन्दा बढी भक्तजन आएका थिए। जुलाई १५ देखि अगस्त १५ सम्म धरान उपमहानगरपालिका १४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा यस अबधि भर बलि दिन नपाइने चलन छ। यस समय भरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन धरानका बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन्।










