देशमा इन्धनको मूल्यले नयाँ रेकर्ड कायम, सीमावर्ती भारतीय पम्पहरूद्वारा तेल दिन बन्द

IMG-20260426-WA0061

भद्रपुर: नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियाकै उच्च विन्दुमा पुगेपछि सीमा क्षेत्रमा नयाँ सङ्कट उत्पन्न भएको छ। नेपाल आयल निगमले पछिल्लो पटक गरेको भारी मूल्य वृद्धिसँगै अहिले काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरहरूमा पेट्रोलको मूल्य २१९ रुपैयाँ र डिजेलको मूल्य २०७ रुपैयाँ प्रतिलिटर कायम भएको छ। यसरी मूल्य आकाशिएपछि सीमावर्ती भारतीय बजारको तुलनामा नेपालमा इन्धन निकै महँगो भएको छ, जसले गर्दा सीमा क्षेत्रमा तस्करी र कालाबजारीको नयाँ चुनौती थपिएको छ। नेपाल र भारतबीच इन्धनको मूल्यमा ठूलो अन्तर देखिएपछि भारतीय प्रशासनले सीमावर्ती बिहार र उत्तर प्रदेशका पेट्रोल पम्पहरूमा नेपाली नम्बर प्लेटका सवारी साधनलाई इन्धन दिन प्रतिबन्ध लगाएको छ।​विशेष गरी बिहारको अररिया, किशनगञ्ज र पूर्णिया लगायतका जिल्लाहरूमा नेपाली सवारी साधनलाई इन्धन निषेध गरिएको छ। भारतमा इन्धन सस्तो हुँदा नेपालबाट सवारी साधनहरू तेल भर्नकै लागि सीमा पारि जाने क्रम बढेपछि इन्धनको अवैध ओसारपसार रोक्न यस्तो कडा कदम चालिएको हो। स्थानीय प्रशासनले ग्यालेन वा बोतलमा इन्धन लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ भने आकस्मिक अवस्थामा बाहेक नेपाली सवारीलाई सीमित इन्धन पनि नदिन पम्प सञ्चालकहरूलाई निर्देशन दिइएको छ। नेपालमा पछिल्लो एक महिनाभित्रै चार पटकसम्म मूल्य वृद्धि भएपछि ढुवानी र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत ठूलो असर परेको छ।​अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र मध्यपूर्वी देशहरूमा जारी तनावका कारण आपूर्ति प्रणालीमा अवरोध पुगेपछि नेपाल आयल निगमले मूल्य समायोजन गर्नुपरेको स्पष्ट पारेको छ। तर, यसरी मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्न थालेको छ। अर्कोतर्फ, भारतमा कार्यरत नेपाली श्रमिकहरू पनि इन्धन र ग्यासको मूल्य वृद्धिका कारण प्रभावित भएका छन्। सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायहरूले निगरानी बढाएका छन् भने भारतीय पम्पहरूमा नेपाली सवारीको लाइन लाग्ने क्रम रोकिएपछि नेपालका सीमावर्ती क्षेत्रका पम्पहरूमा इन्धनको माग ह्वात्तै बढेको छ।

About Author

Advertisement