सिलगढी: सिलगढी क्षेत्रमा नौ वर्षीया बालिकालाई दुष्कर्म गर्ने प्रयास गरेको छिमेकमा रहेको एक ५७ वर्षीय व्यक्तिविरुद्ध अभियोग उठेको घटनाले क्षेत्रमा सनसनी मच्चिएको छ। घटनाको खबर पाएपछि घटनास्थलमा पुलिस गएर आरोपी व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त समाचारअनुसार आज दिउँसो सिलगढीअन्तर्गत एउटा क्षेत्रमा नौ वर्षीया बालिका घरमा एक्लै थिइन्। त्यस समय तिनको आमा आफ्नो पसलमा थिइन्। छिमेकी व्यक्तिले बालिका घरमा एक्लै रहेको फाइदा उठाएर उनको घरमा पसेर बालिकाको मुख थुनेर दुष्कर्म गर्ने प्रयास गरेको आरोप रहेको छ। त्यहीँ समय बालिकाकी आमा घर आइपुगिन्। यसपछि घटनालाई लिएर सो क्षेत्रमा हल्ला मच्चियो। घटनाको खबर पाएर खालपाडा आउटपोस्ट पुलिस तत्कालै घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेर थानामा लगेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई भोलि बिहीबार सिलगढी अदालतमा पेश गरिने समाचार छ।










