दुर्गम बक्साद्वारमा ७७औँ स्वाधीनता दिवस पालन

cd2ff591-0ba1-4d2d-9499-5c2c65f73877-1

कालचिनीः मंगलबार सर्वत्र ७७औँ स्वाधीनता दिवस पालन गर्ने क्रममा कालचिनी खण्डको दुर्गम तथा ऐतिहासिक बक्सादुर्गमा पनि तिरङ्गा झण्डा फहराएर ७७औँ स्वाधीनता दिवस पालन गरियो। कालचिनी विधायक विशाल लामाको करकमलबाट ऐतिहासिक बक्सादुर्गमा तिरङ्गा झण्डा उत्तोलन गरिएको थियो भने सो कार्यक्रमको आयोजक बक्सा विकास अभियानको पक्षबाट फूटबल टूर्नामेन्टको पनि आयोजना गरिएको थियो। बिहान प्रायः ९ बजी कालचिनी विधायक विशाल लामाको बाहुलीबाट ऐतिहासिक बक्सादुर्गमा दुई ठाउँमा राष्ट्रिय झण्डाको उत्तोलन गरिएको थियो। माउन्टेनियर्स रोभर्सको पक्षबाट पनि बक्साद्वारका स्कूले विद्यार्थीहरूलाई फूटबल साथै खाता र कलम वितरण गरिएको थियो।

दुर्गम बक्साद्वारमा राष्ट्रिय झण्डा उत्तोलनमा आईपुगेका कालचिनी विधायक विशाल लामाले बर्षेनी बक्साद्वारमा यसरी स्वाधीनता दिवसको उपलक्ष्यमा आउन पाउँदा खुसी लागेको र हर घर तिरङ्गा एवम् अन्यान्यको अमृत महोत्सव अन्तर्गत यसपाली स्वतन्त्रता दिवस ऐतिहासिक बक्सादुर्गमा मनाउन पाउँदा खुसी लागेको र आफ्नो पक्षबाट बक्साद्वार पहाड़को विकासको निम्ति जे काम हुन्छ त्यो गर्ने प्रयास गरिरहेको र विधानसभामा दुर्गम बक्साद्वारको विकासको निम्ति सरकारको ध्यान आकर्षण गर्न कुनै कसर नछोड़ेको जनाएका छन्।यस उपलक्ष्यमा बक्सादुर्गमा वृक्षारोपण पनि गरिएको थियो भने बक्सा विकास अभियानको पक्षबाट फूटबल टूर्नामेन्टको पनि आयोजना गरिएको थियो जसमा २८ बस्ती बनाम अच्छापाड़ाबीच रोमान्चित खेल सम्पन्न भएको थियो। सो खेलको फाइनलमा २८ बस्तीले १-० को अन्तरमा अच्छापाड़ालाई पराजित गर्दै विजेता कप हासिल गर्न सफल भएको थियो।

About Author

Advertisement