दार्जीलिङको चाैरस्ता जोगाउन अजय एडवर्ड्सद्वारा पहल गर्दै मन्त्री दिलीप घोषलाई ज्ञापन पत्र

IMG-20261028-WA0085

‘गोर्खा नारी उद्यम मेला’ आयोजना गर्न प्रस्ताव

दार्जिलिङ: दार्जीलिङको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको चौरास्ताको संरक्षण गर्नुपर्ने मागसहित एडवर्ड्स फाउण्डेशन एवं ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्ड्सले पश्चिम बंगाल सरकारका पञ्चायत तथा ग्रामीण विकास विभागका मन्त्री दिलीप घोषसँग भेट गरी ज्ञापन पत्र बुझाएका छन्। भेटका क्रममा उनले चाैरस्तामा सारस मेला तथा यस्तै प्रकृतिका ठूला कार्यक्रम आयोजना गर्दा स्थानीय बासिन्दाले भोग्नुपरेका समस्याबारे मन्त्रीको ध्यानाकर्षण गराउँदै पहाडका महिला उद्यमी,ग्रामीण कारीगर तथा स्वयं सहायता समूहका सदस्यहरूलाई आर्थिक रूपमा सबल बनाउने विभिन्न प्रस्ताव समेत अघि सारेका छन्। अजय एडवर्ड्सले बुझाएको ज्ञापन पत्रमा दार्जीलिङको चाैरस्तालाई सुरक्षित राख्दै स्थानीय उत्पादन,हस्तकला र पहाडी समुदायका उद्यमशीलतालाई प्रवर्द्धन गर्न सरकारसँग आग्रह गरिएको छ। उनले मेलाको आयोजना र स्थानीय बासिन्दाको सुविधा बिच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन्।
‘चाैरस्ताको मौलिकता र जनसुविधा जोगाउन माग,दार्जीलिङको चाैरस्ता केवल पर्यटकीय स्थल मात्र नभएर स्थानीय बासिन्दाको दैनिक जीवन,सामाजिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको महत्त्वपूर्ण सार्वजनिक स्थल हो। यहाँ स्थानीय मानिसहरू बिहान बेलुका हिँडडुल गर्न, व्यायाम गर्न,प्रार्थना गर्न,साथीभाइसँग भेटघाट गर्न तथा शान्त वातावरणमा समय बिताउन आउने गर्छन्। विशेषगरी ज्येष्ठ नागरिकहरूका लागि चाैरस्ता दैनिक शारीरिक अभ्यास,मानसिक सन्तुष्टि र सामाजिक सम्पर्कको महत्त्वपूर्ण केन्द्र रहेको ज्ञापन पत्रमा उल्लेख गरेका छन्।तर चाैरस्तामा पटक-पटक विभिन्न मेला तथा ठूला कार्यक्रम आयोजना गर्दा त्यहाँ पसल र स्टलहरू राखिने भएकाले स्थानीय बासिन्दाको नियमित गतिविधि प्रभावित हुने गरेको एडवर्ड्सको भनाइ छ। यसले चाैरस्ताको मौलिक वातावरण र सार्वजनिक स्थलका रूपमा रहेको यसको महत्त्वमा समेत असर पार्ने चिन्ता व्यक्त गरिएको छ।सरकार परिवर्तनसँगै स्थानीय नागरिकका लामो समयदेखिका गुनासो र मागलाई संवेदनशीलताका साथ सम्बोधन गरिने अपेक्षा गरिएको पनि ज्ञापन पत्रमा उल्लेख छ। सारस मेला भानु भवन वा उपयुक्त अन्य स्थलमा सार्न आग्रह गर्दै
अजय एडवर्ड्सले चाैरस्तामा सारस मेला आयोजना गर्नुको सट्टा अन्य उपयुक्त स्थानमा मेला सञ्चालन गर्न सरकार समक्ष आग्रह गरेका छन्।उनले दार्जीलिङको भानु भवन वा अन्य कुनै उपयुक्त मैदान अथवा प्रतिष्ठानलाई वैकल्पिक स्थलका रूपमा छनोट गर्न सकिने प्रस्ताव राखेका छन्। तर, त्यस्तो स्थल छनोट गर्दा स्थानीय बासिन्दासँग पर्याप्त छलफल र परामर्श गर्नुपर्ने उनको सुझाव छ। यसरी उपयुक्त स्थानमा मेला आयोजना गर्न सके स्थानीय कारीगर,महिला उद्यमी र स्वयं सहायता समूहका सदस्यहरूले आफ्ना उत्पादन बिक्री गर्ने अवसर पाउनेछन् भने चाैरस्तालाई पनि सर्वसाधारणका लागि खुला र सहज रूपमा उपयोग गर्न सकिनेछ।उनले मेला आयोजना गर्ने विषयमा स्थानीय नागरिकको भावना र आवश्यकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।
अजय एडवर्ड्सले गोर्खा नारी उद्यम मेला’ नामकरण गर्ने प्रस्ताव राख्दै पहाडमा आयोजना हुने आगामी मेलाहरूलाई ‘गोर्खा नारी उद्यम मेला’ नाम दिएर सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन्। यस नाममार्फत् पहाडी क्षेत्रका महिला उद्यमीहरूको क्षमता, सीप, सिर्जनशीलता र आर्थिक योगदानलाई विशेष रूपमा उजागर गर्ने उद्देश्य राखिएको छ। स्थानीय महिलाहरूले उत्पादन गरेका हस्तकलाका सामग्री,परम्परागत वस्तु, घरायसी उत्पादन तथा पहाडी समुदायको पहिचान झल्काउने सामग्रीलाई मेलाको प्रमुख आकर्षण बनाउन सकिने प्रस्ताव गरिएको छ। यसबाट मेलालाई केवल किनबेच गर्ने कार्यक्रमका रूपमा सीमित नराखी स्थानीय महिला उद्यमशीलता,ग्रामीण अर्थतन्त्र र पहाडी संस्कृतिको प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।

About Author

Advertisement