दार्जिलिङ चियालाई पुनः विश्व स्तरीय ताकत बनाउन सरकारले सहायता गर्नेछ: केन्द्रीय मन्त्री पियुष गोयल
खरसाङ: केन्द्रीय उद्योग एंव वाणिज्य मन्त्री पियुष गोयलले दार्जिलिङ पहाड र तराई डुवर्स क्षेत्रका चियाबारी उद्योगसित सम्बन्धित सरोकारवालाहरुसित बैठक गरेका छन्। उक्त बैठक खरसाङको मकैबारी चियाबारीस्थित एक निजी होटलमा सम्पन्न भएको छ। उक्त बैठकमा केन्द्रीय मन्त्री पियुष गोयलले पहाडका चियाबारी उद्योगसित सम्बन्धित सरोकारवालाहरुसित भेटघाट गरेर यससित सम्बन्धित विभिन्न समस्याहरुमाथि चर्चा गरेका छन्। चियाबारी उद्योगको विकास साथै आर्थिक सम्भावनासित सम्बन्धित विषयहरुमाथि चर्चा गरिएको छ। सभामा विशेष गरेर दार्जिलिङ पहाड र तराई डुवर्स क्षेत्रका चिया उद्योगको विभिन्न समस्याहरु र यसको समाधान साथै चिया उद्योगलाई बचाउन विभिन्न पहलहरु र जानकारहरु आदान प्रदान गरिएको छ। यसको साथै दार्जिलिङ पहाड र तराई डुवर्स क्षेत्रको चियाबारीहरुले भोग्न परिरहेको विभिन्न समस्याहरु र चुनौतीहरु विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। यस बैठकमा दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक सोनाम लामा लगायत चिया उद्योगसित सम्बन्धित प्रतिनिधिहरु उपस्थित रहेका थिए। उक्त सभापछि पत्रकार सम्मेलनमा केन्द्रीय उद्योग एंव वाणिज्य मन्त्री गोयलले दार्जिलिङ पहाड र तराई डुवर्स क्षेत्रका चियाबारी क्षेत्रमा रहेका चिया उद्योगलाई बचाउन र सुधार गरेर लान, चियाको निर्यात बढाउन, चियाको अक्शन बढाउन लगायतको विषयमा प्रतिनिधिहरुसित चर्चा परिचर्चा, साथै सुझावहरु प्राप्त भएको बताए। उनले भारत ब्लाक टी को सबैभन्दा अधिक निर्यातकर्ता रहेको अनि चियाको विश्वमा दोस्रो रहेको पनि बताए। उनले बैठकमा गुणस्तरीय चिया उत्पादनको लागि नयाँ तरिका अप्नाउने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। केन्द्रीय मन्त्री पियुष गोयलले भने, हाम्रो प्राथमिकता चियाबारी श्रमिकहरुको उज्वल भविष्य निर्माण गर्नु रहेको छ। प्रधानमन्त्री चाय बगान योजनामार्फत् चियाबारी श्रमिकहरुको स्वास्थ्य र श्रमिकहरुको नानीहरुको शिक्षाको 312 करोड रुपियाँ आवण्टन गरिएको छ। चियाको निर्यात बढाउन काम गरिनेछ। यसको लागि काम गरिनेछ। टी रिसर्च सेन्टरहरुलाई पनि सहायता दिने कुरामा सभामा निर्णय लिइएको छ।’
उनले आरोप लगाउँदै भने, बंगालमा ममता सरकारले श्रमिकहरुको हितमा काम गरेन अनि चियाबारी श्रमिकहरुको हितमा भारत सरकारको विभिन्न योजनाहरू लागि पनि गरेन। तर अब बंगालमा शुभेन्दु अधिकारीको सरकार छ त श्रमिकहरुको हितमा धेरै काम हुने आशा छ।’
केन्द्री मन्त्री पियुष गोयलले दार्जिलिङ चिया देशको शान रहेको बताउँदै यसलाई पुनः विश्व स्तरीय ताकत बनाउन सरकारले सहायता गर्नेछ भनी बताए। उनले दार्जिलिङ चियाको नाममा नक्कली व्यापार रोक्न काम गरिने पनि बताएका छन्। उनले दार्जिलिङ चियाको मिठास देश विदेशमा लगिने बताए।





