गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले गुणस्तरीय शिक्षाको खोजीमा राज्यका बालबालिकाले सिक्किमबाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्दै राज्यलाई नै भारत तथा विश्वभरका विद्यार्थीहरूको रोजाइको शैक्षिक गन्तव्य बनाइने बताएका छन्। गान्तोकस्थित मनन केन्द्रमा आयोजित ‘शिक्षा सम्मेलन–२०२६ (सिक्किम एजुकेसन लिडरसिप समिट)’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किमलाई गुणस्तरीय शिक्षाको अग्रणी केन्द्रका रूपमा रूपान्तरण गर्ने दृढ सङ्कल्प व्यक्त गरेका हुन्।
९९.८२ प्रतिशत साक्षरता दरसहित भारतको पाँचौँ पूर्ण साक्षर राज्य बन्न सफल भएको ऐतिहासिक उपलब्धिप्रति गर्व व्यक्त गर्दै मुख्यमन्त्री गोलेले अबको जिम्मेवारी अझ फराकिलो रहेको बताए। “हाम्रो आगामी लक्ष्य सिक्किमका प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गरून्, आवश्यक सीप विकास गरून् र जुनसुकै मञ्चमा आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्न सक्षम बनून् भन्ने हो,” उनले भने।
शिक्षा प्रणालीको जग र राज्यको भविष्य निर्माणका साझेदारका रूपमा रहेका शिक्षकहरूको मर्यादा, सुरक्षा र पेसागत वृद्धिका लागि आफ्नो सरकार उत्तिकै प्रतिबद्ध रहेको मुख्यमन्त्री गोलेले स्पष्ट पारे।
‘पूर्ण साक्षर सिक्किम’ बाट ‘पूर्ण सक्षम सिक्किम’ तर्फ उद्देश्य र दृढताका साथ अघि बढिने उल्लेख गर्दै उनले ज्ञान, सीप र सशक्त मस्तिष्कका माध्यमबाट सिक्किमको उज्ज्वल भविष्य निर्माण गरिनेमा जोड दिए।





