दलाई लामाको ९१औँ जन्मोत्सव: मुख्यमन्त्रीद्वारा सुस्वास्थ्य र दीर्घायुको कामना

prem-singh-tamang

गान्तोक: तिब्बती आध्यात्मिक गुरु चौधौँ दलाई लामाको ९१औँ जन्मोत्सवको पावन अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तमाङले सिक्किमेली जनता र आफ्नो तर्फबाट उहाँप्रति गहिरो श्रद्धा व्यक्त गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको छ।
​मुख्यमन्त्रीका अनुसार दलाई लामाको जन्मोत्सवको यस शुभ अवसरमा सिक्किमका जनता विश्वभरका लाखौँ अनुयायीहरूसँगै निकै खुसी र भक्तिका साथ उत्सवमा सहभागी भएका छन्। उहाँले दलाई लामाको सुस्वास्थ्य, लामो जीवन र असीम शान्तिका लागि प्रार्थना गर्नुभएको छ। दलाई लामाले शताब्दीऔँदेखि सम्पूर्ण मानव जातिलाई करुणा, ज्ञान, शान्ति र अहिंसाको कालातीत मूल्यहरू सिकाउँदै आउनुभएको र उहाँको यो मार्गदर्शक दर्शन आगामी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बनिरहने मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ।
​सिक्किमेली जनताको हृदयमा दलाई लामाको विशेष स्थान रहेको चर्चा गर्दै मुख्यमन्त्री तमाङले सिक्किम राज्य र यहाँका नागरिकप्रति दलाई लामाले देखाउनुभएको अगाध स्नेह, आध्यात्मिक मार्गदर्शन र करुणाका लागि सिक्किम सधैं ऋणी रहने बताउनुभएको छ। दलाई लामाको असीम ज्ञान र निःस्वार्थ प्रेमले सम्पूर्ण मानव जगतलाई सही मार्ग देखाउँदै संसारका सबै प्राणीहरूमा आशा र शान्ति ल्याओस् भन्ने कामना समेत उहाँले गर्नुभएको छ।

About Author

Advertisement