दरामदिन: सिक्किम विधानसभाका सभामुख एवं दरामदिन निर्वाचन क्षेत्रका विधायक एम.एन. शेर्पाले दरामदिन टारमुनि निर्माणाधीन एसपीडब्लूडी सडक खण्डको स्थलगत निरीक्षण गरेका छन्। सडक पुनर्निर्माणको प्रगति र गुणस्तरबारे जानकारी लिन सभामुख शेर्पा हिजो (मंगलबार) निर्माण स्थल पुगेका हुन्।
दरामदिन क्षेत्रलाई राज्यका अन्य भूभागसँग जोड्ने यो सडक यहाँको मुख्य ‘लाइफलाइन’ (जीवनरेखा) मानिन्छ। सवारी साधनको निर्वाध आवतजावत, खाद्यान्न तथा अत्यावश्यक सेवाको आपूर्तिलाई निरन्तरता दिनका लागि यस सडक खण्डको समयमै पुनर्निर्माण हुनु अपरिहार्य देखिएको छ।
निरीक्षणका क्रममा सभामुख शेर्पाले सडक निर्माणको प्राविधिक गुणस्तरको जाँच गर्नुका साथै बाँकी रहेका कामहरूका बारेमा चासो व्यक्त गरेका थिए। उनले सम्बन्धित अधिकारी तथा निर्माण पक्षसँग कामको समयसीमा (टाइमफ्रेम) बारे सोधपुछ गर्दै जनहितलाई ध्यानमा राखेर उच्च मापदण्ड कायम गर्न निर्देशन दिए। साथै, वर्षात्को समयमा सर्वसाधारणले भोग्नुपर्ने सास्तीलाई न्यूनीकरण गर्न बाँकी काम छिटोभन्दा छिटो सम्पन्न गर्नसमेत उनले आग्रह गरे।









