रेलवे क्वाटरलाई क्षति अनि रेलवे सेवा वाधित
खरसाङ: खरसाङक महकुमा अन्तर्गत तीनधारेको रेलवे स्टेशनमुनितिर रहेको पुरानो अस्पताल क्षेत्रमा पैह्रो गएको छ। उक्त पैह्रो रेलवे लिक र राष्ट्रिय राजमार्ग ११० मा पुगेको छ। यसको साथै पैह्रोको चपेटमा एउटा रेलवे क्वाटर परेर झुण्डिएको अवस्थामा रहेको छ। पैह्रोले रेलवे सेवा वाधित बनेको छ भने राष्ट्रिय राजमार्ग ११० मा पुगेको पैह्रो सफा गरेर गाडीहरु भने कुद्ने बनाइएको छ। उक्त पैह्रोको चपेटमा परेर दुईवटा रूखहरु खतरामा अबस्थामा रहेको जानकारी प्राप्त भएको छ। यदि पैह्रोले ती दुईवटा रुखहरु तानेको खण्डमा रोडमा पुगेर यातायात अवरुद्ध हुनसक्ने बताइएको छ। उक्त पैह्रोको निरीक्षण गर्न भारतीय जनता पार्टी तीनधारे महानदी मण्डलको अनुसूचित जातिको सभापति एवं घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्म र भाजपा मण्डल उप सभापति सागर दासले पुगेका थिए। उक्त पैह्रो विषयमा अजय विश्वकर्माले रेलवे र एनएचआईडीसीएललाई सूचित गरेको बताएका छन्। उक्त पैह्रो झरेको रोडलाई सफा गरेर गाडीहरु कुद्ने बनाइएको तर रेलवे सेवा भने बन्द नै रहेको उनले जानकारी गराएका छन्। उल्लेखनीय छ तीनधारे क्षेत्र पैह्रो र प्राकृतिक आपदाको लागि खतराको क्षेत्रमा पर्ने हुनाले स्थानीयहरु यस बर्खा झरिको समय चनाखो साथै पूर्ण सुरक्षित रहन आवश्यक देखिएको छ।









