संस्थापक तासी नामग्यालको पूर्णकदको सालिक अनावरण
गान्ताेक: सिक्किमको ऐतिहासिक शिक्षण संस्था तासी नामग्याल एकेडेमीको १०० वर्ष पूरा भएको अवसरमा आयोजित ऐतिहासिक शताब्दी महोत्सव भव्यताका साथ सम्पन्न भएको छ। उक्त समारोहमा मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) को विशेष उपस्थिति रहेको थियो।
महोत्सवका क्रममा मुख्यमन्त्री तामाङले एकेडेमीका संस्थापक, तत्कालीन सिक्किमका राजा महामहिम मिवाङ चोग्याल सर तासी नामग्यालको पूर्णकदको सालिक अनावरण गर्नुभएको छ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले टीएनएको १०० वर्षको इतिहास ज्ञान, अनुशासन, चरित्र, नेतृत्व र समर्पणको एउटा अद्वितीय विरासत भएको बताउनुभयो। यस ऐतिहासिक संस्थामा अध्ययन गरेका पूर्वविद्यार्थीहरूले विभिन्न क्षेत्रमा सिक्किम र सिङ्गो राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो।
विगतको इतिहास र समृद्ध विरासतको सम्मान गर्दै अबका नयाँ पुस्तालाई आधुनिक शिक्षा, सीप, करिअर मार्गदर्शन, नवप्रवर्तन र नयाँ अवसरहरूसँग जोडेर भविष्यका लागि तयार पार्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिनुभयो। संस्थापक सर तासी नामग्यालको दूरदर्शी सोचले प्रत्येक विद्यार्थीलाई विनम्रताका साथ सिक्ने, निष्ठाका साथ सेवा गर्ने र स्पष्ट उद्देश्यका साथ नेतृत्व गर्ने प्रेरणा दिइरहने उहाँले विश्वास व्यक्त गर्नुभयो।
सय वर्ष पूरा गरेको सुखद अवसरमा मुख्यमन्त्रीले सम्पूर्ण टीएनए परिवारलाई बधाई दिँदै एकेडेमीको आगामी शताब्दी अझ बढी उत्कृष्टता र उपलब्धिहरूले भरिपूर्ण होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।





