गान्ताेक: जिल्ला शिक्षा तथा तालिम संस्थान (डाइट) ग्याङटोकले डि.इआई.इडी. २०२४–२६ ब्याचका उत्तीर्ण प्रशिक्षार्थीहरूका लागि पाँचौँ शिक्षक पदग्रहण (इन्भेस्टिचर) समारोह आयोजना गरेको छ। प्रशिक्षार्थीहरूको सफलता र उपलब्धि मनाउने उद्देश्यले डाइट ग्याङटोक परिसरमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सिक्किम प्रहरीका महानिर्देशक (डीजीपी) अक्षय सचदेवा मुख्य अतिथि तथा एससीईआरटीकी अतिरिक्त निर्देशक छिरिङ एल भुटिया विशेष अतिथिका रूपमा उपस्थित थिए। संस्थानका प्रिन्सिपल छिरिङ वाङ्दी भुटियाले स्वागत मन्तव्य राख्दै राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० को आलोकमा डाइटको पुनर्संरचना र नवप्रवर्तनबारे प्रकाश पारेका थिए।
समारोहमा ४६ जना डि.एल.एड. प्रशिक्षार्थी शिक्षकहरूलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिनुका साथै शिक्षक शपथ ग्रहण, सांस्कृतिक कार्यक्रम र प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइएको थियो। वर्ष २०२५–२६ को उत्कृष्ट हाउसका रूपमा मोन्टेसरी (रेड) हाउसलाई ‘श्रेष्ठ शिल्ड’ प्रदान गरियो।
उत्कृष्ट अङ्क ल्याउने परीक्षार्थीहरू गीताञ्जली तामाङ, याङ्चेन लेप्चा र सुप्रिया क्षेत्रीलाई नगद पुरस्कार प्रदान गरियो। नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने गीताञ्जली तामाङ र शतप्रतिशत उपस्थिति जनाउने टासी डोल्मा लेप्चालाई पनि सम्मान गरियो।
मुख्य अतिथि डीजीपी अक्षय सचदेवाले आफ्नै भाषा, संस्कृति र परम्पराप्रति गर्व गर्न र वातावरण संरक्षणप्रति सचेत रहन प्रशिक्षार्थीहरूलाई आग्रह गरे। उनले शिक्षण पेसामा पूर्ण निष्ठाका साथ लाग्न र जीवनभर सिक्ने संस्कार विकास गर्न प्रेरणा दिए। कार्यक्रमको धन्यवाद ज्ञापन याङ्जोम लाचुङ्पाले गरेकी थिइन्।









