एम्टलवीन: हकी विश्व कपको सेमिफाइनलमा पुग्ने सपना देखिरहेको भारतीय पुरुष टीमको निम्ति नीदरल्याण्ड्सविरुद्ध हारपछि समीकरण निक्कै जटिल बनेको छ। ओलम्पिक च्याम्पियनविरुद्ध भारतले जसरी पनि जीत हासिल गर्नु पर्ने थियो तर शनिवार १-३-को हारपछि टीमको निम्ति सेमिफाइनलमा पुग्ने सम्भावना केवल आफ्नो प्रदर्शनमाथि निर्भर रहनेछैन। भारतको सम्भावना अब नीदरल्याण्ड्स, अर्जेण्टिना र ईंग्ल्याण्डको म्याचहरूमाथि पनि निर्भर रहनेछ। अर्जेण्टिनाले शनिवार ईंग्ल्याण्डलाई ३-१-ले पराजित गरी भारतलाई प्रतियोगिताबाट बाहिर (एलिमिनेट) हुनदेखि बचाए पनि बाटो सजिलो छैन। भारतले अब अर्जेण्टिनाविरुद्ध भर्चुअल नक्आउट म्याच खेल्नु छ अनि टोलीले अन्य म्याचको नतीजामाथि पनि नजर राख्नु पर्नेछ। अन्य म्याचको नतीजा सोचेको जस्तो नरहे भारतको निम्ति अर्जेण्टिनाविरुद्ध म्याच केवल औपचारिकता बन्नेछ। वेगनर हकी स्टेडियममा भारतले पहिलो २ क्वार्टरमा नीदरल्याण्ड्सलाई गोल गर्ने मौका दिएन। त्यसपछि म्याचको अन्तिम २ क्वार्टरमा चाहिँ आयोजक टोलीले लगातार दबाउ सृष्टि गर्दै ३ गोल गरेर म्याच जित्यो। डुके टेलगेनक्याम्पले ४१औं मिनटमा नीदरल्याण्ड्सको निम्ति पहिलो गोल गरे। त्यसपछि भारतले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। हरमनप्रीत सिंहले ५२औं मिनटमा पेनल्टी कर्नरबाट गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याए। डच टीमले म्याचको रहल समयमा लगातार २ गोल गरी नतीजा आफ्नो पक्षमा गऱ्यो। आयोजक टोलीको तर्फबाट ट्जेप हूडेमेकर्स र थिज वान डेमले गोल गरे। त्यसपछि भारतको सक्दो प्रयास गरे पनि म्याच बचाउन सकेन। यस जीतको साथ नीदरल्याण्ड्स ६ अंकको साथ सेमिफाइनलमा पुग्यो। भारतले २ वटा म्याच खेलेर कुनै अंक हासिल गरेको छैन। पूल ई-मा नीदरल्याण्ड्स शीर्ष स्थानमा रहेको छ। यसरी अर्जेण्टिना र ईंग्ल्याण्डसँग ३-३ अंक रहेको छ। विश्व कपको नयाँ प्रारूप अनुसार, यस चरणमा गत चरणको अंक पनि थपिएको छ। यसले नीदरल्याण्ड्स र ईंग्ल्याण्डलाई फाइदा भएको छ। यसैकारण नीदरल्याण्ड्स, ईंग्ल्याण्ड र अर्जेण्टिनाको स्थिति भारतभन्दा धेरै मजबूत रहेको छ। यसरी सेमिफाइनलमा पुग्न भारतले आफ्नो म्याच मात्र जितेर हुनेछैन। टोलीको निम्ति अब अन्य म्याचहरूको नतीजा पनि आफ्नो पक्षमा रहनु जरूरी भएको छ।










