वाशिंगटन :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भएको चर्चित फोन संवादबारे प्रकाशित रिपोर्टलाई पुष्टि गरेका छन्। अमेरिकी समाचार संस्था एक्सियोसले सार्वजनिक गरेको रिपोर्टमा ट्रम्पले नेतान्याहूसँगको कुराकानीका क्रममा कडा शब्द प्रयोग गरेको उल्लेख गरिएको थियो।
प्रसारित ‘पोड फोर्स वन विथ मिरान्डा डेभिन’ कार्यक्रममा होस्ट मिरान्डा डेभिनले एक्सियोसको रिपोर्टबारे प्रश्न गर्दै ट्रम्पलाई सोधिन् उनले नेतान्याहूसँगको फोन संवादमा “के तपाईं पागल हुनुभएको हो? तपाईं के गर्दै हुनुहुन्छ? मैले तपाईंलाई जेल जानबाट बचाएँ” जस्ता अभिव्यक्ति प्रयोग गरेका थिए कि थिएनन्।
जवाफमा ट्रम्पले उक्त संवाद भएको स्वीकार गर्दै भने, “हो, मैले त्यसरी कुरा गरेको थिएँ। म रिसाएको भने थिइनँ, तर लेबनानसँगको जारी तनाव र द्वन्द्वप्रति चिन्तित थिएँ।”
ट्रम्पले थपे, “मैले बीबी (नेतान्याहू) लाई भनेको थिएँ कुनै न कुनै समयमा यो अवस्था रोक्नुपर्छ। तर हाम्रो सम्बन्ध निकै राम्रो छ र हामीले सँगै धेरै प्रभावकारी काम गरेका छौँ।”
एक्सियोसले सोमबार प्रकाशित गरेको रिपोर्टमा ट्रम्पले फोन संवादका क्रममा नेतान्याहूप्रति असन्तुष्टि व्यक्त गर्दै कडा भाषा प्रयोग गरेको दाबी गरेको थियो। ट्रम्पको पछिल्लो अभिव्यक्तिले उक्त रिपोर्टलाई पुष्टि गरेको छ।











