दार्जिलिङ: जोरबङलो सुकियापोखरी खण्ड अन्तर्गत परमागुढी तामसाङ ग्राम पञ्चायतको तामसाङ गोदामधुरा निवासी सन्जी तामाङको घरमा शुक्रबार राती अचानक आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।आगलागीमा घरभित्र रहेका सम्पूर्ण सरसामानसमेत जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन्। प्राप्त जानकारी अनुसार, आगलागीको खबर पाए लगत्तै गाउँवासीहरू घटनास्थलमा भेला भई आगो अन्यत्र फैलिन नदिन प्रयासमा जुटेका थिए। यसैबीच, बिजनबारी अग्निशमन विभागको टोली घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिन सफल भएको थियो भने अग्निशमन टोलीले घटनासम्बन्धी विस्तृत रिपोर्ट समेत तयार पारेको बताइएको छ। यसैबीच उक्त घरमा परिवारका सदस्यहरूसँगै तामसाङ डाक विभाग कार्यालयमा कार्यरत एक कर्मचारी पनि बस्दै आएकी थिइन्। आगलागीका कारण परिवारकोसँगै डाक विभागका कर्मचारीको व्यक्तिगत सरसामानका साथै विभागीय कागजपत्र समेत जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ। घटनाको जानकारी पाएपछि तामसाङ चियाबारीका प्रबन्धक, क्षेत्रीय सभासद सन्दीप छेत्री तथा स्थानीय ग्राम पञ्चायतका प्रतिनिधिहरूले घटनास्थलको भ्रमण गरी पीडित परिवारसँग भेटघाट गरेका छन्। उनीहरूले पीडित परिवारलाई सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ। आगलागीको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएपछि प्रशासनको टोलीले घटनास्थलको निरीक्षण गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ।
दशैंको उल्लासमय वातावरणबीच भएको यस घटनाले तामसाङ क्षेत्रमा दुःखको वातावरण सिर्जना गरेको छ। घर र घरभित्रका सम्पूर्ण सरसामान गुमाएपछि पीडित परिवारलाई ठूलो क्षति पुगेको छ।





