जेयुएसद्वारा पत्रकार निर्मल मंगरप्रति ऐक्यबद्धता प्रकट, दोषीहरू विरूद्ध कारबाहीको माग

1000579026.jpg

गान्तोक: जर्नलिस्ट युनियन अफ् सिक्किम (जेयुएस) ले राज्यका एक वरिष्ठ पत्रकार निर्मल मंगर विरूद्ध एउटा फेसबुक पेजले हालेको पोस्टको कडा शब्दमा निन्दा गरेको छ। युनियनले पत्रकार मंगरप्रति ऐक्यबद्धता प्रकट गर्दै उक्त फेसबुक पेजका सञ्चालक विरूद्ध कानून अनुरुप उचित कारबाहीको माग पनि गरेको छ।

युनियनका प्रचार सचिव नवदीप शर्माले आज जारी एक प्रेस विज्ञप्तिमा भनेका छन्, ‘पत्रकार निर्मल मंगरलाई व्यक्तिगत रूपमा लक्ष्य गरेर उनको मान र प्रतिष्ठालाई हानी पुऱ्याउने किसिमले (Sikkim News Unofficial) नामक फेसबुक पेजले अशोभनीय तरिकाले, सभ्य समाजका लागि एकदमै अस्वीकार्य हुने किसिमको एउटा भिडियो सार्वजनिक गरेको हाम्रो जानकारीमा आएको छ। यस्ता किसिमको अशोभनीय, असह्य र घृणित कार्यको जर्नलिस्ट युनियन अफ सिक्किम कडा शब्दमा निन्दा साथै विरोध गर्दछ।’

उनले भनेका छन्, ‘निर्मल मंगर सिक्किमका एकजना प्रतिष्ठित र जिम्मेवार पत्रकार मात्रै नभएर समाजका एक जिम्मेवार व्यक्ति पनि हुन्। संविधानले अभिव्यक्तिको स्वतन्त्रता सबैलाई दिएको छ भन्दैमा त्यस स्वतन्त्रतालाई गैरजिम्मेवारीपूर्ण ढङ्गले जथाभावी प्रयोग गर्न पाइँदैन। कसैलाई व्यक्तिगत रूपमा लक्ष्य गरेर उनको मानहानी गर्ने कसैलाई अधिकार छैन। उक्त फेसबुक पेजले पत्रकार निर्मल मंगरलाई बडी सेमिङ गर्ने कुचेष्टा गरेको छ।’

पत्रकार मंगरले पनि व्यक्तिगत रूपमा पनि उक्त कार्यको विरोध गर्दै उचित निकायमा उजुरी दर्ता गरिसकेको जानकारी गराउॅंदै उक्त पेज चलाउने व्यक्ति वा समुहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग पनि राखेको विज्ञप्तिमा उल्लेख छ।

युनियनले पत्रकार निर्मल मंगरप्रति ऐक्यबद्धता प्रकट गर्दै भनेको छ, उक्त पेजका एडमिनले पत्रकार निर्मल मंगरलाई सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग युनियन गर्दछ। यसका साथै यस्ता घृणित कार्य गर्ने असामाजिक र तुच्छ मानसिकता भएका व्यक्तिलाई सम्बन्धित निकायले साइबर अपराधका उचित कानुनअनुसार कार्वाही गर्नुपर्छ भन्ने माग पनि गर्दछ। सभ्य समाजका सबै नागरिकले पनि यस्ता घृणित कार्यको विरोध गर्नुपर्छ भनी जर्नलिस्ट युनियन अफ सिक्किम अपील पनि गरेको छ।

About Author

Advertisement