नयाँ दिल्ली: भारतकी अनाहत सिंहले जूनियर स्क्वाश विश्व च्याम्पियनशीपको खिताब जितेर इतिहास रचिन्। अनाहत यस खिताबलाई जित्ने पहिलो भारतीय हुन्। क्यानाडाको नायग्रा अन द लेकमा आयोजित च्याम्पियनशीपको फाइनलमा अनाहतको भिड़न्त इजिप्टकी रुकय्या सालेम (दोस्रो वरीयता प्राप्त)-सँग भएको थियो। रोचक खिताबी भिड़न्तमा अनाहतले रुकय्यालाई ११-३, ११-७, ११-९-ले पराजित गरिन्। अनाहतको यो जीत धेरैवटा दृष्टिकोणले ऐतिहासिक रहेको छ कारण २१ सालपछि कुनै भारतीयले फाइनलमा मात्र स्थान नबनाएर खिताब पनि जितेर देखायो। अनाहत अघि २००५-मा जोशना चिनप्पा फाइनलसम्म पुगेकी थिइन्। यस ऐतिहासिक सफलताको निम्ति अनाहतलाई खेल मन्त्री मनसुख माण्डवियाले बधाई दिएका छन्। फाइनल म्याचको अन्तिम क्षणको भीडियो सोशल मीडियामा साझा गर्दै माण्डवियाले लेखेका छन्, इतिहास रचियो। अनाहत सिंहलाई विश्व स्क्वाश जूनियर च्याम्पियनशीप जित्ने पहिलो भारतीय बनेकोमा हार्दिक बधाई। यो अभूतपूर्व उपलब्धि हरेक भारतीयको निम्ति गर्वको क्षण हो। यसअघि देशकी स्टार स्क्वाश खेलाड़ी अनाहतले सेमिफाइनलमा इजिप्टकै बार्ब सामेहलाई ११-३, ८-११, ११-४, ११-६-ले पराजित गरी फाइनलमा प्रवेश गरेकी थिइन्। विश्व ऱ्याङकिंगमा २०औं स्थानमा रहने अनाहतले गत वर्ष काँस्य पदक जितेकी थिइन्। उल्लेखनीय छ, भारतकी अझ एकजना स्क्वाश स्टार जोशना चिनप्पाले २००५-मा फाइनलसम्मको यात्रा तय गरेकी थिइन् तर उनी खिताब जित्नदेखि चाहिँ चुकेकी थिइन्। यसपाली फाइनलमा १८ वर्षीय अनाहतले शुरुदेखि नै प्रभावशाली प्रदर्शन गरिन्। उनले पूरा टुर्नामेण्टमा ६ वटा म्याच खेलेर केवल २ सेट गुमाइन्। च्याम्पियनशीपमा २०११-देखि प्रत्येकपल्ट इजिप्टकी खेलाड़ीहरूले खिताब जित्दै आएकी थिइन् तर यसपाली अनाहतले उनीहरूको वर्चस्वलाई समाप्त गरिन्।











