गान्ताेक: कारगिल विजय दिवसका अवसरमा सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले शुभकामना सन्देश जारी गर्दै कारगिल युद्धका अमर वीर योद्धाहरूलाई नमन गरेका छन्।
लोकभवनद्वारा जारी सन्देशमा राज्यपाल माथुरले देशको सीमा र अखण्डताको रक्षाका लागि अद्भूत साहस तथा अदम्य सङ्कल्प प्रदर्शन गर्ने वीर जवानहरूको सर्वोच्च बलिदान हरेक नागरिकका लागि प्रेरणाको स्रोत भएको बताएका छन्।
”यो दिनले हामीलाई हाम्रा अमर सहिदहरूको स्मरण मात्र गराउँदैन, सीमानामा तैनाथ हाम्रा सशस्त्र बलका ती कर्मठ जवानहरूप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि दिन्छ, जो जुनसुकै मौसम र परिस्थितिमा देशको सुरक्षाका लागि तत्पर छन्,” राज्यपालले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
सैनिकहरूको महान् विरासतको सम्मान गर्दै देशको एकता, शान्ति र सुरक्षालाई सधैँ अक्षुण्ण राख्नका लागि सबै नागरिकलाई दृढ सङ्कल्पित हुन पनि राज्यपाल माथुरले आह्वान गरेका छन्।











