गान्तोक: राज्यका मुख्य सचिव भीबी पाठक र जी-२० का प्रमुख संयोजक हर्ष वर्धन सिरिङलाको अध्यक्षतामा जी२० सम्मेलनलाई लिएर एक समवन्य बैठक सम्पन्न भयो। आगामी मार्च महिनामा राज्यमा पालन गरिने जी-२० सम्मेलनको तयारीलाई लिएर बैठक आयोजना गरिएको हो। सिरिङला एक दिवसीय भ्रमणको निम्ति सिक्किम आएका हुन् भने यस अवसरमा उनले मुख्य सचिव पाठकसँग भेट गरेपछि समन्वय बैठक सम्पन्न गरिएको हो। उक्त बैठकमा विभिन्न विभागका प्रमुखहरूले सहभागिता जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै मुख्य संयोजक सिरिङलाले जी-२० सम्मेलनबारे देशमा नै तयारी चलिरहेको अवगत गराए। आगामी मार्च महिनामा सम्पन्न हुने जी-२० सम्मेलन यो छुट्टै प्रकारको कार्यक्रम रहने भएकोले यसले देशको संस्कृति, परम्परा र देशले हासिल गरेको उपलब्धिबारे दर्शाउने बताए। यो कार्यक्रम देशको ५६ वटा शहरमा विभिन्न उमेरका मानिसहरूलाई लिएर आयोजना गरिने भएको छ।









