जीटीए क्षेत्रमा हकी एकाडेमी स्थापना गर्ने उद्देश्यले भारतीय हकी खेलाडी भरत छेत्रीले जीटीए चिफ् अनित थापासित भेटघाट

IMG-20230523-WA0110.jpg

हकी एकाडेमी स्थापना पहाडको निम्ति धरोहर बन्नेछ: अनित थापा

खरसाङ: भारतीय हकी खेलाडी भरत छेत्रीले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रमा हकी एकाडेमी स्थापना गर्ने आफ्नो इच्छा जाहेर गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापालाई सहयोग माग्दै आज खरसाङमा भेट गरेका छन्। भेटघाट समय उनले एकाडेमी स्थापनाको निम्ति ज्ञापन पत्र पनि चढाएका छन्। जीटीए क्षेत्रमा हकी एकाडेमी स्थापना गर्नुको मुख्य उद्देश्य जीटीए क्षेत्रका नानीहरुलाई राज्य अनि राष्ट्रिय हकी खेलमा भाग लिने मौका प्रदान गर्नु अनि खेल आरक्षणमार्फत् शिक्षा अनि रोजगारको मौका दिलाउनु रहेको बताएका छन्। भरत छेत्रीले भनेका छन् कि जीटीए क्षेत्रमा हकीको खेलाडी जन्म दिने कुनै मञ्च छैन। यहाँका नानीहरू (बालक, बालिका) हरुमा हकी खेलाडी बन्ने प्रतिभा रहेको छ साथै उनीहरू उत्साहित पनि छन्।
जीटीए प्रमुख कार्यपाल अनित थापाले पनि हकी एकाडेमी स्थापनाको निम्ति उत्साह देखाएका छन्। उनले तुरन्तै सम्बन्धित अधिकारीलाई फोनमार्फत् यस विषयलाई अघि लैजाने निर्देश दिए। उनले भने, हामी बाटो घाटोको निर्माण गर्छौं। यदि एकाडेमी स्थापना गर्नु सकिए पहाडको निम्ति ठूलो सम्पत्ति हुनेछ। सेन्ट टेरेजा स्कूलका एक हकी खेलाडीले ओडिसासम्म खेल्नु गएको कुरा गर्दै उनले भने, “हाम्रा नानीहरूमा प्रतिभा छ। हामीले राम्रो प्रशिक्षण दिएर जीटीएकै एउटा हकी टीम तयार गर्नु सक्छौं।”
भरत छेत्री १६ माइल, कालेबुङका निवासी हुन्। उनी भारतको हकी टिमका खेलाडी रहेका छन्। उनले २००१ अनि २००६ को हकी वर्ल्ड कपमा स्वर्ण पदक प्राप्त गरेका थिए। उनले २०१२ को ओलम्पिक खेलमा भाग लिएका थिए भने २०१० को कमनवेल्थ गेम्समा काँस्य पदक प्राप्त गरेका थिए। त्यसरी नै २००२ को एशियन गेम्समा काँस्य अनि २०१० मा रजत पदक प्राप्त गरेका छन्। उनलाई २००८ को ध्यानचन्द पुरस्कारले सम्मान जनाइएको थियो। उनी बंग रत्न (२०१६) अनि बङ भूषण (२०२२) ले विभूषित खेलाडी हुन्। उनी चार वर्षसम्म भारतीय महिला अनि पुरुष हकीका प्रशिक्षक पनि रहेका थिए।

About Author

Advertisement