‘जिरो से वि स्टार्ट ‘ को नारासहित खरसाङ लायन्स क्लबको नेतृत्व आयुष गुप्तालाई सुम्पियो

2c298c17-143c-47bb-8cbe-6a3e3a63b22d

खरसाङ: लायन्स क्लब अफ् खरसाङले ५१औं इन्स्टलेसन समारोह खरसाङको गिद्धे पहाडस्थित वीक इण्ड रिट्रिटमा आयोजना गर्यो। डिष्ट्रिक्ट गवर्नर ज्योति गुप्ताको मुख्य आतिथ्यमा आयोजित समारोहमा लायन्स क्लब अफ् खरसाङको नयाँ बोर्ड गठन गरियो। नयाँ पदाधिकारीहरुलाई जयगाउँबाट आउनु भएका पिडिजी विनोद अग्रवालले शपथ ग्रहण गराए। निवर्तमान अध्यक्ष विवेक गोयलको हातबाट लायन्स बेल हस्तान्तरण गरी नयाँ बोर्डको आधिकारिक घाेषणा पनि गरे। नयाँ बोर्डमा अध्यक्षको पदमा आयुष गुप्ता, सचिवको पदमा नीलम चाचन अनि कोषाध्यक्षको पदमा कविता अग्रवाल नियुक्त भएका छन्।
मुख्य अतिथिको सम्बोधनमा डिजी ज्योति गुप्ताले लायन्स क्लबको जिल्लाकाे एन्थेमको सार्वजनिक गर्दै भने, ” खरसाङ लायन्स क्लब ले ५० वर्ष पूरा गरेर ५१ वर्ष टेकेको छ। जिल्लामा यो सबैभन्दा पुरानो क्लब हो। तर पुरानो क्लब हो भन्दैमा सिक्नु छोड्नु हुँदैन। हामीले निरन्तर सिक्नु पर्छ। लायन्स क्लबको मूल कार्य नै समाजको सेवा पुर्याउनु हो। त्यसैले हरेक दिन हाम्रो कार्यको थालनी जिरोबाट नै सुरु हुनुपर्छ। मेरो कार्यकालको थिम “जिरो से वि स्टार्ट ” राखेको छु।”
गुप्ताले क्लबका सदस्यहरूलाई लायन्स क्लबको सदस्य हुनुको महत्त्व माथि प्रकाश पार्दै भने, “”लायन्स क्लबको प्रगति तब हुन्छ जब हामी समाजसेवामा लागिपर्छौं। मजबुत रुख ठाडो उभिनुको कारण गहिराइसम्म पुगेको जरा हो। लायन्सले पनि आफ्नो सेवालाई प्रभावकारी बनाएरै आफ्नो मजबुती देखाउनेछ। लायन्स क्लब एउटा ब्राण्ड हो, र हाम्रो ब्राण्ड भनेकै सेवा हो। यो ब्राण्डलाई कहिल्यै धमिलो हुन नदिऔं। जब हामी यही ब्राण्डलाई केन्द्रमा राखेर काम गर्छौं, तब निरन्तर समाजसेवामा लागिरहन्छौं। यही सेवा नै लायन्स हुनुको सच्चा लिगेसी बन्नेछ।”
इन्स्टलेसन समारोहका प्रमुख व्यक्ति पिडिजी विनोद अग्रवालले भने, “लायन्स क्लब आफैंमा एउटा विश्वविद्यालय हो। आज भारतका लायन्सहरूले अन्तर्राष्ट्रिय लायन्स क्लबको नेतृत्व गरिरहेका छन्। निवर्तमान अन्तर्राष्ट्रिय लायन्स क्लब अध्यक्ष ए.पी. सिंह अहिले लायन्स फाउन्डेसनका चेयरम्यान बनेका छन्।”
उनले थप भने, “हाम्रो उद्देश्य तृणमूल स्तरमा पुगेर सेवा गर्नु र त्यहाँको समाजलाई सचेत बनाउनु हो। समाज परिवर्तन नै हाम्रो लक्ष्य हो।”
समारोहलाई दोस्रो डिष्ट्रिक्ट गभर्नर शिवानी गोयणकाले पनि सम्बोधन गरिन्। गोयणका आगामी डिष्ट्रिक्ट गभर्नर बन्नेछिन् र जिल्लाकी पहिलो महिला डिजी बन्ने गौरव पनि उनैले पाउनेछिन्।
स्मरण रहोस्, जिल्लाकाे पहिलो डिष्ट्रिक्ट गभर्नर खरसाङका पि सि अग्रवाल थिए। खरसाङ लायन्स क्लब ९ मई १९७६ मा स्थापित भएको थियो। लायन्स क्लब विश्वभर १४ लाखभन्दा बढी सदस्य रहेको अन्तर्राष्ट्रिय संस्था हो। नव नियुक्त अध्यक्ष आयुष गुप्ताले जानकारी दिए अनुुसार क्लबले रक्तदान, मधुमेह जाँच, मोतिबिन्दु जाँच जस्ता कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गमा विस्तार गर्नेछ। खरसाङमा ब्लड बैंक स्थापना गर्ने पहललाई अघि बढाएर लैजानेछ।
समारोहमा क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका सदस्यहरूलाई सम्मान पनि गरिएको क्लब सदस्य सरोज चौहानले जानकारी दिए।

About Author

Advertisement