खरसाङ: खरसाङमा बिहीवार जगन्नाथ रथ यात्रा महोत्सव भव्य रूपमा आयोजना गरिएको थियो।उक्त रथ यात्रा खरसाङ अखण्ड हरि संकीर्तन संस्थाको आयोजनामा सम्पन्न भएको हो, जसमा खरसाङ क्षेत्रका विभिन्न मठ-मन्दिरका सदस्य तथा श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

रथ यात्रा खरसाङको नयाँ बजारस्थित जगन्नाथ मन्दिरबाट आरम्भ भई पंखाबारी रोड हुँदै खरसाङ शहरको परिक्रमा गरेर पुनः जगन्नाथ मन्दिरमै पुगेर सम्पन्न भएको थियो। रथ यात्रापछि मन्दिर परिसरमा प्रसाद वितरण गरिएको थियो र त्यससँगै महोत्सवको समापन गरिएको थियो। खरसाङ संकीर्तन संस्थाका सदस्य रमेश प्रसादका अनुसार खरसाङस्थित जगन्नाथ मन्दिरको इतिहास १०० वर्षभन्दा पुरानो रहेको छ र यहाँ निरन्तर रूपमा रथ यात्राको आयोजना हुँदै आएको छ।

उनका अनुसार यस वर्षको रथ यात्रामा विराटनगरको नौमती बाजा टोली,आमबाडी-जलपाईगुडीको हरि संकीर्तन) टोली, नयाँबस्ती खरसाङ गुम्बाको लामाबाजा टोली तथा खरसाङ ओम शान्ति समूहद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रमहरू मुख्य आकर्षणका रूपमा रहेका थिए।









