​जापानको फुजिसावामा मस्जिद निर्माणलाई लिएर चर्कियो बहस

Screenshot_20260801_145727_Instagram

स्थानीयको चिन्ता र आप्रवासीको आफ्नै पीडा

नयाँ दिल्ली: जापानको राजधानी टोकियोबाट करिब एक घण्टाको दूरीमा रहेको तटीय सहर फुजिसावामा पहिलो मस्जिद निर्माण हुने भएसँगै स्थानीय समुदायबीच तीव्र बहस सुरु भएको छ। घट्दो र वृद्ध जनसङ्ख्याका कारण मजदुर अभाव झेलिरहेको जापानमा वैदेशिक रोजगारीका लागि मुस्लिम समुदायको उपस्थिति बढ्दै जाँदा सांस्कृतिक र सामाजिक चिन्ता चुलिएको हो।
​फुजिसावामा मस्जिद निर्माणको योजना सार्वजनिक भएसँगै स्थानीयवासीमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई विविधता र स्वीकार्यताको रूपमा हेरेका छन् भने कतिपयले सामाजिक संरचना बिग्रिने डर व्यक्त गरेका छन्।
​स्थानीय बासिन्दा नोरिको इजुमिजावा मस्जिद निर्माणपछि आफ्नो समाज कसरी परिवर्तन होला भन्ने विषयमा चिन्तित छिन्। उनीजस्तै धेरै स्थानीयवासी मस्जिद निर्माणको विरोधमा उत्रिएका छन्। यस वर्षको सुरुमा स्थानीय रेलवे स्टेशननजिक मस्जिदको विरोधमा प्रदर्शनसमेत भएको थियो, जहाँ हजारौँ मानिसहरू सडकमा उत्रिएका थिए।
​स्थानीयहरूको तर्क छ कि नजिकै रहेको परम्परागत जापानी ‘शिन्तो’ धार्मिक स्थलभन्दा ठुलो मस्जिद बनाउनु स्थानीय संस्कृति र परम्पराको अनादर गर्नु हो। सामाजिक सञ्जालमा मस्जिदविरोधी अभिव्यक्ति र गलत जानकारी फैलिने क्रम बढेको छ भने केही मस्जिदमा आपत्तिजनक फोन र इमेलहरू आउन थालेका छन्।
​यद्यपि, सबै स्थानीयवासी विरोधमा भने छैनन्। मस्जिद निर्माण हुने स्थलको अगाडि कफी शप सञ्चालन गर्दै आएका हिरोकी सुजुका भने संवाद र समझदारीमा जोड दिन्छन्। उनी भन्छन्, “म यसको खास विरोध पनि गर्दिनँ र पूर्ण समर्थन पनि गर्दिनँ। पहिलो कदम भनेको उनीहरूको मूल्यमान्यता र सोच बुझ्ने प्रयास गर्नु हो।”
​मुस्लिम समुदायको अनुभव र चिन्ता
​जापानमा लामो समयदेखि बस्दै आएका मुस्लिम समुदायका व्यक्तिहरू भने हालैका दिनमा मानिसहरूको व्यवहारमा आएको परिवर्तनबाट दुःखी छन्। ३९ वर्षदेखि ओसाकामा बस्दै आएका श्रीलङ्काली व्यवसायी मोहम्मद मोहिदिनले पछिल्लो समय मुस्लिम समुदायप्रति जापानीहरूको दृष्टिकोण नकारात्मक बन्दै गएको महसुस गरेका छन्।
​”सामाजिक सञ्जालमा ‘जापान छोडेर जाऊ’ जस्ता टिप्पणीहरू दिनहुँ देखिन्छन्। केही मानिसहरू त मस्जिदमा आएर गालीगलौजसमेत गर्छन्,” मोहिदिनले भने। उनका अनुसार हालैका दिनमा मुस्लिमहरूलाई ‘आतङ्कवादी’ भन्ने वा बम बनाउने आरोप लगाउने जस्ता मौखिक दुर्व्यवहारका घटना बढेका छन्।
​त्यस्तै, सैतामा प्रान्तको याशिओ मस्जिदका प्रतिनिधि ६१ वर्षीय शकिल मोहम्मदका अनुसार जापानका नियम-कानुनको पालना गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। “हामी जापानका नियम र शिष्टाचारको पूर्ण पालना गर्छौँ। केही व्यक्तिले गलत व्यवहार गर्दा सिङ्गो समुदायमाथि औँला उठ्ने गरेको छ,” उनले भने।
​जापानको जनसाङ्ख्यिक परिवर्तन र आप्रवासन नीति
​जापान अहिले जनसाङ्ख्यिक सङ्कटबाट गुर्जिरहेको छ। सन् २०२५ सम्ममा जापानमा बस्ने विदेशीहरूको सङ्ख्या ४० लाख नाघेको छ, जसमध्ये अधिकांश चीन, भियतनाम, दक्षिण कोरिया र फिलिपिन्सका छन्। सरकारी तथ्याङ्कअनुसार तीमध्ये करिब २५ लाख ७० हजार विदेशीहरू जापानमा कार्यरत छन्।
​बढ्दो आप्रवासी जनसङ्ख्याका बिच जापानी सरकारले पनि भिसा नीतिमा कडाइ गर्न थालेको छ। जुन २०२६ मा जापान सरकारले करिब ५० वर्षपछि विदेशी नागरिकका लागि भिसा शुल्क करिब पाँच गुणाले बढाउने निर्णय गरेको थियो। साथै, अवैध रूपमा बसोबास गरिरहेका विदेशीहरूमाथि कानुनी कारबाही कडा बनाउन अध्यागमन एजेन्सीमा कर्मचारीको सङ्ख्या बढाउने योजना बनाइएको छ।
​बढ्दो विविधतासँगै आफ्नो मौलिक पहिचान र सामाजिक एकता कसरी कायम राख्ने भन्ने चुनौती अहिले जापानसामु खडा भएको छ। फुजिसावाकी स्थानीय इजुमिजावा पनि स्वीकार गर्छिन्, “वास्तवमा, जुन कुरालाई हामी राम्ररी जान्दैनौँ, सायद त्यही कुरासँग हामीलाई डर लाग्छ।”

About Author

Advertisement