झापा: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन राजधानीको चन्द्रागिरिमा आयोजित हिमाल, मानिस र जलवायु परिवर्तन विषयक अन्तर्राष्ट्रिय विशेषज्ञ संवादमा उनले जलवायु वित्त व्यवस्थापन र दिगो विकासका पहलमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहनेमा जोड दिए।
ढकालले नेपालको प्राकृतिक सम्पदा दिगो विकासमा सदुपयोग गर्न नेपाल सरकार तथा निजी क्षेत्र प्रतिबद्ध रहेको बताउनुभयो। ढकालले प्रतिकूलता न्यूनीकरण, जोखिम न्यूनीकरण र दिगो अर्थतन्त्र विस्तारका लागि जलवायु वित्त व्यवस्थापनको महत्वपूर्ण आवश्यकताबारे जोड दिनुभयो। छलफलमा ढकालले निजी क्षेत्रले नेपालमा जलवायुमैत्री लगानी विस्तार गरेको बताउँदै जलविद्युत्, सौर्य ऊर्जा, कृषि, पर्यटन तथा अन्य क्षेत्रमा उल्लेख्य मात्रामा लगानी गरेको जानकारी दिए। जलविद्युत्मा निजी लगानीले एक हजार ७४४ मेगावाट विद्युत् उत्पादन गरेको भन्दै ढकालले ग्रामीण क्षेत्रमा सौर्य ऊर्जा परियोजना बढ्दै जाँदा गैरनवीकरणीय स्रोतप्रति निर्भरता घटाउँदै गएको उहाँको भनाइ थियो। विद्युतीय सवारीसाधनमा कम भन्सार शुल्क जस्ता सरकारी नीतिहरूले नवीकरणीय ऊर्जातर्फको यात्रालाई थप प्रोत्साहन गरेको र यसमा निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको उनको भनाइ रहेको छ।
पर्यावरणमैत्री पर्यटन र केबुलकार परियोजनाको प्रवर्धनले पनि कार्बन उत्सर्जन घटाउन र दिगो विकासलाई प्रवर्धन गर्न महìवपूर्ण भूमिका निर्वाह गरिरहेको अनुभव उनले सुनाए। ढकालले जलवायु मैत्रीपूर्ण लगानीको निरन्तर विस्तार र सशक्त सार्वजनिक–निजी साझेदारीका लागि उनले आह्वान गरे। राष्ट्रिय रणनीतिमा जलवायु वित्तीय व्यवस्थापनको समावेशीकरण, अनुदान र प्रविधि हस्तान्तरणका लागि अन्तर्राष्ट्रिय साझेदारसँग सहयोगको अपेक्षा उनले गरे। यस किसिमको साझेदारीले नेपालको सन् २०४५ सम्म शून्य उत्सर्जनको लक्ष्य भेट्याउन सहयोग पुग्ने उहाँको आँकलन थियो।









